इटहरी : ईलाका प्रहरी कार्यालय इटहरीले विहीबार कार र मोबाईल चोरी गर्ने तथा किन्ने चारजनालाई सार्वजनिक गरेको छ।
कार एवं मोवाईल चोरीमा संलग्न एवं चोरीको मोवाईल किन्ने चारजनालाई बुधबार नियन्त्रणमा लिएर विहीबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो।
असोज २९ गते इटहरी १२ खनारका पुष्पनारायण चौधरीको कार, मोवाईल एवं एटिमसहितको पर्स चोरी गर्ने एवं चोरीको मोबाईल किन्नेलाई प्रहरीले विहीबार सार्वजनिक गरेको हो।
ईलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक अर्जुन केसीका अनुसार पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका १ पश्चिम धर्मकाटा बस्ने २० बर्षीय प्रदीप चौधरी, इटहरी १३ बस्ने २० बर्षीय संजय सरदार, १९ बर्षीय नरेश सरदार र १९ बर्षीय अविनास सरदार रहेका छन् ।
उनीहरुमध्ये प्रदीप चौधरीले असोज २९ गते बिहान ३ बजेतिर इटहरी १२ खनारका पुष्पनारायण चौधरीको घरको चौथो तल्लाको कोठामा पसेर चार्जमा रहेको सामसुङ ग्यालेक्सी मोबाईल र बिभिन्न बैँकका एटिएम कार्डहरु रहेको पर्स र बा ९ च ३४०३ नम्बरको सिल्भर रङको कारको साँचो समेत निकालेर पार्किङमा राखेको कार र कार भित्र रहेको ल्यापटपसमेत चोरेको प्रहरीले डीएसपी केसीले जानकारी दिए ।
यस्तै कात्तिक १६ गते राती उनै चौधरीले इटहरी १३ खनारस्थित मिया टोलका सद्दाम हुसेनको घरबाट सामसुङ कम्पनीको एउटा मोवाईल र रेडमी कम्पनीको एउटा मोवाइल एवं नगद ४६ हजारसमेत चोरी गरेका थिए ।
चोरीमा संलग्न चौधरीलाई प्रहरीले कात्तिक २३ गते राती इटहरी १२ बस्ने अविनास सरदारको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो।
प्रहरीका अनुसार चोरीमा संलग्न उनलाई घरमा लुकाई राखेर संरक्षण दिने अविनास सरदार र सद्दाम हुसेनको घरबाट चोरी भएको रेडमी कम्पनीको एउटा र सामसुङ कम्पनीको एउटा मोबाईल किन्ने इटहरी १३ का नरेश सरदार र संजय सरदारलाई पनि पक्राउ गरेको छ।
पक्राउ परेकाहरुलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरेर चोरी मुद्दामा थप अनुसन्धान गरिरहेको इटहरी प्रहरीले जनाएको छ ।














Discussion about this post