कुनै समय भालेको डाको सँगसँगै बिउँझिन्थ्यो गाउँ । मिरमिरेमै धुवाउँन थाल्थ्यो चुल्हो । घाम ब्यूँझनुअघि नै पधेँराको पानी आइपुग्थ्यो घरसम्म । एकनासले गुञ्जिन थाल्थ्यो ढिकीजाँतोको सङ्गीत ।
खेतबारीमा किसानको व्यस्तता कहिल्यै टुट्दैनथ्यो । गोठमा गाईवस्तुले गञ्जयमान बन्थ्यो । गाउँका चौतारीमा कुनै एक थकान मात्रै होइन, जिन्दगी नै बिसाइन्थ्यो ।
यी र यस्तै कुराले गर्दा गाउँ स्मृतिमा बाँचिरहेछ । गाउँ स्मृतिमा बाँचेपनि खास गाउँले भने मानिसहरूलाई विस्मृतिमा पो राखिसक्यो कि ? मानिसहरूलाई गाउँले सोध्ने प्रश्नहरू कयन् छन् । तर, गाउँलाई मानिसले दिन बाँकी केही रहेन ।
गाउँको स्मृति गर्दा सम्झना आउँछ– आमाको सारीको सप्को समाउँदै उठ्थे केटाकेटी । बा ले भर्खरै तताएको तातो दूध पिउँथे नानीहरू । र, रमाउथे चङ्गाजसरी निष्फित्री । रमाउनुको कुनै गन्तव्य थिएन, चङ्गाझैँ उड्नु नै पर्याप्त थियो । तिनै केटाकेटी, तिनै नानीहरू थियौँ– हामीहरू ।
ती केटाकेटीहरू कालो बन्माराको पातको चुङ्गी बनाएर खेल्थे । खेल्थे टाँकीको हाँगाबाट बनाएको डन्डी बियो । पुराना मोजा फाल्नुपर्दैन थियोे, बनाइन्थ्यो सानो भकुण्डो । खेल्थे समूह बनाएर । उनीहरूबीच जीवनको कुनै प्रतिस्पर्धा हुँदैनथ्यो ।
कुनै भागदौड न कुनै दौडधुप नै हुन्थ्यो । खाली भुइँमै बसेर गोलो घेरा लगाउँदै रुमाल लुकाइ खेल्दाको क्षण त स्मृतिमा नाचिरहन्छ । आँखाले त्यो क्षण खोजिरहन्छ । चप्पलको साँध लगाएर कबड्डी खेलेको सम्झना मनको कुनै एक कुनामा ओगटेर बसिरहेको छ ।
घाँस–दाउरा काट्न, वस्तु–बाख्रा चराउन जङ्गल पुग्दा भोकै फर्किनुपर्दैनथ्यो । काफल, ऐँसेलु, बयर, चिउरी, घँगरु, डुम्री, खनिउँलगायतका फलले वन–जङ्गललाई रङ्गीन बनाएको हुन्थ्यो । बाटोमा भेटिएका फल टिप्दै, खाँदै र कहिलेकाहीँ घरकालाई पनि ल्याउँदै दिन बित्थ्यो ।
जङ्गल घाँस–दाउरा र चरनको ठाउँ थिएन, बाल्यकालका लागि त्यो आफैँ एउटा खुला भान्साजस्तै थियो । अझ साथीभाइ भेटिए भने पत्कर सोहोर्ने कामभन्दा गफ, खेल र वनका फल खोज्ने काम पो बढी हुन्थ्यो । घाम ढल्किन थालेपछि डोकोभरि पत्कर बोकेर घरतिर फर्किंदा शरीर थाकेको हुन्थ्यो, तर मन भने वनमै छाडेर आएजस्तो हलुका हुन्थ्यो ।
कहिले पत्कर सोहोर्न जाँदा वनमै सुसेली हाल्दै हिँडिन्थ्यो । चराचुरुङ्गीको चिरबिर, पातको सरसराहट र आफ्नै सुसेली मिसिँदा आफ्नै जीवनको गीत गाएजस्तो लाग्थ्यो । आफ्नै हृदयलाई छोएर बहन्थ्यो प्रकृतिको सङ्गीत ।
त्यतिबेला वनसँग मानिसको सम्बन्ध उपभोगको मात्र थिएन, आत्मीयताको थियो । वनले घाँस दियो, दाउरा दियो, फलफूल दियो, चिसो छायाँ दियो र थाकेको मनलाई एकछिन बिसाउने ठाउँ पनि दियो । त्यसैले जङ्गलमा बितेका ती दिनहरू आज सम्झँदा लाग्छ– हामीले वनबाट केही लिएका मात्र थिएनौँ, वनमै आफ्नो बाल्यकालको एउटा ठूलो हिस्सा छाडेर आएका रहेछौँ ।
हिँड्दै जाँदा ठाउँ–ठाउँमा भेटिन्थे पानीको मूल । कर्कलाको पातमा थापेर पिइन्थ्यो आँत भरिउन्जेलसम्म । साना खोलाहरूमा बाँध लगाएर आहाल बनाइन्थ्यो । खेलिन्थ्यो एक अर्कालाई भिजाउँदै पौडी । खोलै फर्काएर माछा मारिन्थ्यो ।
चाडपर्व नजिकिएसँगै गाउँ सजिन्थ्यो । घरहरू रातोमाटो र कमेरोले रङ्गिन थाल्थे । अनि फर्किन्थे घर परिवार सम्झिएर परदेशीहरू ।
समूह बाँधेर बोकिन्थ्यो गोठको मल । कुनिउँको पराल र गहुँको छवाली ।
मेलापात र अर्मपर्ममा आफ्नोपन र एकता भेटिन्थ्यो । कसैको खेतबारीमा काम पर्दा छिमेकी जुटिहाल्थे । आज अरूको खेतबारीमा पसिना बगाए भोलि आफ्नै खेतबारीमा त्यही हातहरू आइपुग्थे । श्रम बाँडिन्थ्यो, दुःख–सुख साटिन्थ्यो र सम्बन्धहरू अझ कसिँदै जान्थे । गाउँमा एकअर्काको घर मात्र थिएन, एकअर्काको सुख–दुःख पनि आफ्नै जस्तो लाग्थ्यो ।
पञ्चेबाजाको धुन, लोकभाकाको मिठास, गीत–सङ्गीत र मौलिक भेषभूषामा गाउँको आफ्नै पहिचान झल्किन्थ्यो । चाडपर्व आउँदा गाउँको मुहार नै फेरिन्थ्यो । धर्म, संस्कार र संस्कृतिमा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका परम्पराको सुवास भेटिन्थ्यो । पर्वहरू रमाइलो गर्ने अवसर थिएनन्, आफन्त भेट्ने, सम्बन्ध नवीकरण गर्ने र आफ्नो संस्कृति अर्को पुस्तालाई हस्तान्तरण गर्ने अवसर पनि थिए ।
कसैको घरमा पूजा, विवाह, व्रतबन्ध, गुन्युचोलीमा मात्र नभई स्वस्थानी व्रतजस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रम हुँदा सिङ्गै गाउँ जुट्थ्यो । सहजै सबै काम सकिन्थ्यो । र रातभरि जाग्राम बस्नुको आनन्द त कति हो कति ! खेलिन्थ्यो बालन, गाइन्थ्यो दोहोरी, नाचिन्थ्यो सङ्गिनी नाँच ।
साँच्चिकै भन्नुपर्दा, गाउँ र गाउँले जीवन आफ्नै एउटा गर्व गर्न लायक संसार थियो । अभावहरू थिए, दुःखहरू थिए, तर ती दुःखभन्दा ठूला थिए– आपसी सम्बन्ध, सहकार्य र धेरै अपनत्व । थोरै साधनमा पनि धेरै खुसी भेटिन्थ्यो ।
आज सुविधा बढेको छ, जीवन सहज भएको छ, तर त्यतिबेलाको सामूहिकता, आत्मीयता र आफ्नोपन छैन । त्यस क्षण सम्झँदा लाग्छ– हामीले समयसँगै धेरै कुरा पायौँ, तर केही अमूल्य कुरा त्यही गाउँको बाटोमा कतै छाडेर पनि आयौँ । जो अब फर्किएर कहिल्यै आउनेछैन ।
आज गाउँको नजरअन्दाज गर्दा समयसँगसँगै दृश्य बदलिएको छ ।
धेरैजसो घरहरू रित्ता र कुरुप छन्, मानिसको व्यवहारजस्तै । कुनै समय आँगनमा मान्छेको चहलपहल हुन्थ्यो, ढोकामा आत्मीयता भेटिन्थ्यो र घरहरूमा सम्बन्धको न्यानोपन हुन्थ्यो ।
अहिले कतिपय घरका झ्याल–ढोका बन्द छन्, आँगनमा घाँस उम्रिएको छ र भित्ताहरूमा समयका रेखा कोरिएका छन् । घरहरू मात्र रित्तिएका होइनन्, तिनमा बस्ने मानिसका मन र व्यवहार पनि क्रमशः रित्तिँदै गएका छन् ।
धेरै घरका आगनमा केटाकेटीको चहलपहल छैन । कुनै चाडपर्वले गाउँको रौनक बढाउँदैन । पुरानो मौलिकता बोकेका घरहरू रङ्गिन छाडेका छन् । पुरानो घरको चुहुने छानो टालिएको छैन । आधा भत्केका घरहरू छन्, जहाँ मान्छे छैनन् । गोठहरू छन्, गाईवस्तु छैनन् । ढिकी–जाँतो छन् तर प्रयोग गर्ने मानिस छैनन् ।
गाउँ पुग्ने बाटो बन्माराले ढाकेको छ । बाटो छ, बाटो हिड्नेहरू भेटिदैँनन् । अनेकन् अलमलबीच प्रश्न छ– ‘अब गाउँमा बाँकी को छन् ?’ यो प्रश्नमा उत्तर पर्खनु भनेको दुःखी हुनुबाहेक केही होइन । युवा पुस्ताले गाउँ छाडे ।
गाउँमा सोचेजस्तो जीवनस्तर नहुँदा रोजगारी तथा गुणस्तरीय सर्वसुलभ स्वास्थ्य शिक्षा साथै भौतिक सुविधा खोज्दै युवाहरू गाउँ छाडेर सहर पस्न थाले । अझ भन्दा विदेशिन थाले । गाउँमा अवसरहरू नभेटेरै टाढिएका सन्तानको आवाज सुन्न अनुहार हेर्न बुढा बा आमाहरूको पर्खाइ एकटक तल्लीन छ ।
भविष्य खोज्न गाउँ छाड्नु विदेशिनु बाध्यता हो, नराम्रो होइन । तर भविष्य खोज्दै सहर पस्ने र विदेशिनेको संख्या बढ्दै जाँदा गाउँमा बस्ने गाउँ फर्किनेको संख्या घट्दै जानु र युवा पुस्ता गाउँ नै नफर्किनुले आज अनेकौं सामाजिक प्रश्नहरू र खडा भएका छन् ।
के युवाहरू गाउँ मात्रै छाड्दै छन् कि गाउँको भविष्य पनि लगेका छन् ?
सन्नाटा छाएको गाउँ, बाँझिदै गएको जमिन
कुनै समय चाडपर्वमा गाउँ गुञ्जयमान हुन्थ्यो । छरछिमेक तथा समाजमा भएका सामाजिक काममा सिङ्गै गाउँ जुट्थ्यो । मेलापातमा अर्मपर्म चल्थ्यो । समूहमा मिलेर काम गरिन्थ्यो । आजभोलि मौन छ गाउँ, दिउँसै अँध्यारो लाग्छन् बस्तीहरू ।
कुनै समय खेतमा लहलह धान झुल्थे, कोदो, मकै, गहुँ बेजोड तरिकाले फल्थ्यो । पहेँलै देखिन्थ्यो तोरीबारी, लटरम्म फलफूल पाकेर बगैंचा मनमोहक देखिन्थे । फराकिला फाँट उर्वर जमिनमा प्रशस्त अन्न फल्थे । त्यही अन्न फल्ने जमिन आज बनमारा घारी बनेको छ । खेती गर्ने मानिसहरू भेटिन छाडेका छन् । खेतीपाती गर्ने औजारहरू लोप हुँदै गएका छन् । काम गर्ने बानी विस्तारै हराउँदै गएको छ । हामी (मानिस)हरू आत्मनिर्भर छैनौँ, परनिर्भर हुन थाल्यौँ । गाउँ छाड्नेहरूलाई नजाउ भन्न नसकेर मौन छ गाउँ ।
आफैँसँग प्रश्न गर्छ बाटो– ‘अब मेरो छातीमा टेकेर को हिँड्छ ? कसले पन्छाउँछ घनघोर झाडी ?’
गाउँलाई मनदेखि मनन् गर्दा गाउँ मान्छे बस्ने ठाउँ मात्रै होइन । गाउँ हाम्रो संस्कृति हो, हाम्रो पहिचान हो, हाम्रो बाल्यकाल हो । गाउँमा हाम्रा पुर्खाहरूका सम्झना छन् । हाम्रा चाडपर्व, संस्कार, भाषा, भेषभूषा रीतिरिवाज, परम्पराहरू छन् ।
विगत सम्झिदैँ वर्तमानलाई नियाल्दा
भेटिन छाडेछन् वनजङ्गल, मेलापात गर्ने दौँतरीहरू, आँगन उज्यालो बनाउने केटाकेटीहरू भेटिन छाडे । माछा मार्न पौडी खेल्न जानेहरू जान छाडेदेखि एक्लै–एक्लै बगिरहेका छन् खोलाहरू । मेटिइसकेछ कुवा र ढुङ्गेधाराहरूको अस्तित्व । हराइसकेछ हाटबजार गर्नेहरूको जमात, गल्न थालेका छन् काम गरेर नथाक्ने हातहरू ।
जङ्गली जनावरहरू भोकको चीत्कारसहित गाउँ पस्न थालेकाछन् ।
यसरी सकिदै गएको गाउँको अस्तित्व कसरी बचाउने ?
सहरले सिर्जना गरेको विकासको लहर गाउँसम्म पु¥याउन सके फर्किने थिए परदेशीहरू, युवाहरूलाई उद्यमी बनाउन रोजगारी सिर्जना गर्न सके रोकिने थिए, विदेशिन लागेका परिश्रमी पाइलाहरू ।
कृषिलाई आधुनिक र व्यावसायिक बनाउन सकियो भने शिक्षा, स्वास्थ्य, सडक, सञ्चार र प्रविधिको पहुँच दिगो र प्रभावकारी बनाउन सकियो भने जोगिने थियोे गाउँको अस्तित्व । अवसर खोज्दै गाउँ छाड्नेहरू आफ्नै गाउँ फर्किने थिए ।
दिनसके जीवनोपयोगी शिक्षा, स्वस्थ जीवन बाँच्नका लागि बुझाउन सके अर्गानिक खाना, स्वच्छ वातावरणको महत्व, गाउँमा भेटिने सामाजिक एकता र आवश्यकता आफैँमा भेट्टाउन सके फेरि गाउँ हामी जन्मिए हुर्किएको गाउँजस्तो बन्नेथियो ।
सेतै फुलेको कपाल चाउरी परेको अनुहार लिएर गाउँमा बसेर छोराछोरी फर्किने बाटो हेरिरहेका बुवाआमा छोराछोरी फर्किने बाटो मात्र हेर्दैनन्, उनीहरू गाउँको सुन्दर मुहार फेरिने दिनको प्रतीक्षा पनि गरिरहेका हुन्छन् ।
विगत सम्झिएर वर्तमान अवस्थालाई हेर्ने हो भने हृदय बिझाउनेगरी प्रश्न उठ्छ– घरबाट बाहिर निस्किन नसक्ने बुढा बुबाआमा, थोरबहुत महिला अनि काखे बालबच्चा, छानो फाटेर कुरूप भएको पुरानो घर, भत्केका चौगेरो, झाडीले झपक्कै ढाकेको बाटो, वस्तुबाख्रा नभएको रित्तो गोठ, सेतै वनमारा फुलेको खेतीयोग्य जमिन, लेउ पलाइरहेको ढुङ्गे धारो र कसैको पर्खाइमा बसिरहेको चौतारी बाहेक ‘अब गाउँमा बाँकी को छन् ?’















Discussion about this post