इटहरी : विहानको सात बज्दो हो । चिल्लो कार, अघिअघि । कारको पछिल्तिर केही मोटरसाइकल । एक, दुई गर्दै कारबाट पीपीई लगाएका मानिसहरु ओर्लन्छन् । गाउँ, टोलमा रहेका मानिसहरु कोही बाटामा निस्कन्छन्, कोही घरको छतबाटै हेर्छन् । ठ्याक्कै के का लागि आएका मानिसहरु हुन् ? ठम्याउन सक्दैनन्, स्थानीयबासी । त्यतिकैमा कानेखुशी गर्छन् र एकले अर्काको मुखतिर हेर्छन् ।
माथि उल्लेखित दृश्य हो – इटहरी २० तरहराको ।
यहाँ रहेको लिबरल सोसाइटीले अघिल्लो वर्षको लकडाउनदेखि नै कोरोना संक्रमितको घर, गाउँ, टोलमा गएर सेनिटाइज गर्दै आएको छ । यसैबीच दोस्रो लहरको कोरोना आइकन पनि लिवरलका जुझारु युवाहरुले संक्रमितको घर, गाउँमा गएर सेनिटाइजसहित स्वास्थ्य जनचेतना फैलाउँदै आएको लिवरल सोसाइटीका अध्यक्ष सुवेक्छु देवानले बताए ।
‘हामीले दोस्रो चरणको कोरोना आइकन मात्रै पाँचसय बढी घर तथा संक्रमितको टोलमा सेनिटाइज गर्दै आएका छौँ,’ देवानले भने, ‘हामीले पहिलो चरणमा संक्रमितलाई हेला नगरौँ, माया गरौँ भन्ने अभियानसहित सेनिटाइजको कार्यक्रम सुरुआत गरेका थियौँ ।’
उनका अनुसार अघिल्लो संक्रमणको समयमा लिबरलले ‘सरकारको भर नपरौँ, आफैँ सचेत बनौँ,’ ‘संक्रमितलाई हेला नगरौँ, माया गरौँ’ जस्ता सन्देशसहित गाउँ, सहरमा सचेतना गराएको थियो । अहिले पनि कोरोना संक्रमितलाई गाउँ, समाजमा हेर्ने दृष्टिकोण नकारात्मक रहेकाले त्यसलाई चिर्नका लागि अभियान सञ्चालन गरिएको देवान बताउँछन् ।
उनका अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरी, प्रहरी कार्यालयदेखि सार्वजनिक स्थानसम्ममा सेनिटाइज गर्दै आएको उक्त समूहको सकारात्मक कामको अरुले पनि अहिले सिको गरेका छन् ।
‘समाज परिवर्तनका लागि युवाहरु एकजुट भयौँ भने सम्भव छ,’ उनले आफ्नो अनुभव सुनाउँदै अघि भने, ‘हामीले यहाँ सरसफाई अभियान सञ्चालन गरेर एक किसिमको सकारात्मक छाप बसेको छ, यो केवल समाज र समाजकै मानिसहरुका लागि मात्रै गरिएको निस्वार्थ अभियान हो ।’
तीन वर्ष अघि समाजमा रहेर सकारात्मक काम गर्नका लागि स्थापना भएको उक्त क्लब अहिले धेरैजसो मानिसहरुको मन मस्तिष्कमा बसेको छ । तरहरा लगायतका विभिन्न क्षेत्रमा सरसफाई अभियान, स्वास्थ्य शिविर जस्ता कार्यक्रम समेत गर्दै आएको क्लबले यसअघि गत वर्ष तरहराबाट सुरुआत गरिएको सेनिटाइज अभियान त्यसबेला नेपालमै पहिलोपटक थियो । स्थानीय जनप्रतिनिधि तथा समाजले पनि लिबरलको उक्त अभियानको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
‘कुनै नयाँ काम गरौँ भन्दा हामी सबैजना एक हुन्छौँ,’ एकता मार्गका अध्यक्ष समेत रहेका सुरेश गुरुङ भन्छन्, ‘हामीले संक्रमितको घरमै गएर जडिबुटी लगायतका पौष्टिक आहारयुक्त खानेकुरा पनि दिदैँ हौसला बढाउने किसिमका काम गरेका छौँ ।’ समाज परिवर्तनका निम्ति युवाहरु एकजुट भएमा सम्भव हुने उनको तर्क छ । ‘परिवर्तनका लागि धेरै ठूलो कुरा केही पनि पर्दैन, सबै युवाहरु एकजुट भए मात्रै पुग्छ,’ उनले भने । युवाहरुले खाजा खाने खर्च कटाएर पैसा संकलन गरी सामाजिक काममा लगानी गर्ने गरेको उनले बताए ।
सेनिटाइज अभियानमा हाल हिमांशु विश्वकर्मा, विमल शाक्य, सन्तोष पुरी (सुशान्त), विजय गिरी, सुरक्षा काजी थापा, आर्यमान थापा, आकाश विश्वकर्मा लगायत सक्रिय छन् । उनीहरुले संक्रमितको घर, कोठा, गाउँ, छरछिमेकमा सेनिटाइज गर्दै आएका छन् ।
इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले लिबरलले गरेको अभियान सकारात्मक रहेको उल्लेख गरे । ‘वास्तवमा लिबरल जत्तिका संस्था एकजुट हुने हो भने काम गर्नका लागि धेरै सहज हुन्छ,’ श्रेष्ठले भने, ‘एउटा कुनै नयाँ काम गरौँ भन्दा यहाँका युवाहरु म गर्छु, म गर्छु भन्दै सक्रिय भइहाल्छन्, लोभलाग्दो यो समूहले समाज परिवर्तनका लागि अग्रणी भूमिका खेलेको छ ।’
लिबरल सोसाइटीको उक्त अभियानको समाजमा आम मानिसले अनुसरण गर्नुपर्ने उनको तर्क छ ।
भिडियो
Discussion about this post