इटहरी : इटहरीस्थित बुढीगंगा जमुना मुक्तिघाटमा संक्रमितको शव अन्त्यष्टि गर्नका लागि विवाद उत्पन्न भएको छ । केही दिनयता सामाजिक सञ्जालमा व्यक्तिगत लाञ्छना लगाउने किसिमले आरोप प्रत्यारोप सुरु भएपछि विवाद उत्पन्न भएको हो ।
कोरोना भाइरस संक्रमणका कारण निधन भएका व्यक्तिको शव जलाउने विषयमा इटहरीमा विवाद उत्पन्न भएको बृहतर मुक्तिधाम क्षेत्र विकास समिति अन्तरगत सञ्चालित बुढीगंगा जमुना मुक्तिघाट इटहरीका अध्यक्ष हेमप्रसाद घिमिरेले बताए ।
इटहरी ४ मा रहेको घाटमा शव जलाउने, नजलाउने भन्ने विषयमा इटहरी उपमहानगरपालिका, सुन्दरहरैँचा नगरपालिका, वडाध्यक्ष, सुरक्षा निकाय, घाट व्यवस्थापन समिति लगायत सरोकारवालाको बैठकले यकिन निक्र्यौल गर्न नसकेपछि विवाद उत्पन्न भएको हो ।
‘एकै ठाउँमा कोभिड र ननकोभिडको शव जलाउन नमिल्ने भएकाले सुन्दरहरैँचामा निर्माण हुन लागेको घाटमा कोभिडबाट मृत्यु भएकाको शव जलाउन प्रस्ताव गरेका थियौँ,’ घिमिरेले भने, ‘ननकोभिड र कोभिडको शव एकैठाउँमा जलाउँदा संक्रमण फैलनसक्ने भएकाले समस्या हुन्छ भनिएको हो, तर सामाजिक सञ्जालमा नचाहिँदो तरिकाले व्यक्तिलाई बदनाम गराउने खेल भयो ।’
यसअघि गत वर्ष जिल्ला प्रशासन कार्यालय सुनसरी र इटहरी उपमहानगरको समन्वयमा चारकोसेस्थित पानीपियामा शवदाह गर्ने निर्णय भएको थियो । तर, दोस्रो चरणको भेरियन्ट आइकन मुक्तिघाटमै शव अन्त्यष्टि गर्न थालिएछि विवाद उत्पन्न भएको हो ।
केही साता अघि इटहरीका मेयर द्धारिकलाल चौधरीसँग समन्वय हुँदा ननकोभिड र कोभिडको शव एकैठाउँ जलाउन नहुने र नजिकै शवदाह गर्नेगरी समन्वय भएको घिमिरेले जानकारी दिए । उनले भने, ‘केही समय अघि मेयरसाबसँग समन्वय हुँदा उहाँले पनि संक्रमण फैलनसक्ने भएकाले त्यहाँ शवदाह गर्न नहुने र नजिकै कतै व्यवस्थापन गर्न भन्नुभएको थियो ।’
जो सुकै मानिसको पनि कोभिडका कारण मृत्यु हुनसक्ने भएकाले मुक्तिघाट नजिकै अस्थायी रुपमा शव अन्त्यष्टि गर्नेगरी तयारी अघि बढाइनुपर्ने उनको तर्क छ । भने, ‘अहिले कोभिड र ननकोभिडको शव दिनमा ११ वटा सम्म आएको अवस्था छ, यस्तो समयमा एकै ठाउँ अन्त्यष्टि गर्दा मलामीबाट संक्रमण फैलन सक्ने भएकै कारण सुन्दरहरैँचामा अन्त्यष्टि गरौँ भन्ने प्रस्ताव गरिएको हो ।’
छिमेकी नगर सुन्दरहरैँचामा अन्त्यष्टि गर्न सबैजना सकारात्मक रहेपनि इटहरीकी उपमेयर लक्ष्मी गौतम बाधक बनेको उनको आरोप छ । ‘उपमेयरकै प्रोपोगाण्डाका कारण यो विवाद सृजना भएको हो, उहाँले अनावश्यक रुपमा अफवाह फैलाउनुभयो,’ उपमेयर बाधक बनेको आशय व्यक्त गर्दै उनले टाकुरासँग भने, ‘सुन्दरहरैँचामा बन्न लागेको घाटको विषयमा अदालतमा उजुरी गरेकै कारण उहाँले त्यहाँ शव जलाउन नहुँने ‘इगो’ राख्नुभएको हो ।’
उनका अनुसार सुन्दरहरैँचा नगरपालिकाले गत वर्ष नै निर्माण गर्न लागेको घाटको विषयमा अदालतमा उजुरी परेको थियो । त्यसबेला इटहरीकी उपमेयर गौतम नै बाधक बनेकी थिइन् । तर, अदालतले काम अघि बढाउन ‘स्टे अर्डर’ दिएसँगै घाटको प्रक्रिया अघि बढेको थियो ।
‘थोरै नजिकै अलग्गै शव अन्त्यष्टि गरौँ, भनेका हौँ,’ घिमिरेले भने, ‘शवबाट संक्रमण फैलन्छ भनेको होइन, भीडबाट भनेको हो, शव अन्त्यष्टि गर्नै हुँदैन भन्ने होइन, तर आवश्यक समन्वय गरेर काम गरौँ भन्ने हो ।’
स्थानीय सरकारले नेतृत्व गर्न नसकेकै कारण अहिले घाटमा विवाद भएको स्थानीयबासी बताउँछन् ।
‘यतिबेला कोभिडका कारण मरियो भने मुक्तिघाटमा जलाउँदैनन् भनेरै धेरैजसो मानिसहरु पीसीआर नै गर्न मान्दैनन्,’ स्थानीय एक व्यक्तिले भने, ‘मान्छे मरेपछि अन्त्यष्टि गर्न पाउनुपर्छ, वैकल्पिक विधि अपनाइनुपर्छ ।’ मुक्तिघाटको दक्षिणपट्टी शव जलाउन सुरु गरिएपनि स्थानीयले अवरोध गरेपछि यतिबेला इटहरीमा झनै विवाद उत्पन्न भएको उनको बुझाई छ ।
यता, इटहरीका मेयर द्धारिकलाल चौधरीले भने संक्रमितको शव अन्य ठाउँमै अन्त्यष्टि गर्नेगरी तयारी अघि बढाइएको प्रतिक्रिया दिए । ‘हामीले अन्तै अन्त्यष्टि गर्नेगरी तयारी बढाएका छौँ,’ छोटो जवाफ दिदैँ चौधरीले भने, ‘त्यो विषयमा नसोध्नु, हामी जंगलमा बनाउँदैछौँ ।’
यसैबीच सुन्दरहरैँचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले निःशुल्क शव व्यवस्थापन गर्नेगरी सुन्दरहरैँचा ५ मा पर्ने बुढीखोला किनारामै तयारी गर्नका लागि पाँचदिनको समय मागेको बताएका छन् ।
Discussion about this post