इटहरी : सप्तकोसी नदीको बहाव यसवर्षकै उच्च भएको छ । आज बिहान ६ बजे पानीको बहाव एक लाख ८० हजार सात सय ७० क्यूसेक मापन गरिएको छ ।
शुक्रबार राति १२ बजेसम्म बहाव एक लाख ५५ हजार सात सय ७५ क्यूसेक मात्रै थियो । पहाडी क्षेत्रमा निरन्तर भइरहेको भीषण वर्षका कारण सहायक नदीमा समेत बाढी आउँदा कोसीको बहाव रातभरमा २४ हजार नौ सय ९५ क्यूसेक बढेको हो ।
बहाव बढेपछि आज बिहानसम्ममा कोसी ब्यारेजका ५६ ढोकामध्ये २८ वटा ढोका खुला गरिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । शुक्रबार रातिसम्ममा २४ वटा मात्रै ढोका खुला गरिएको थियो ।
पानीको सतह बढ्दा कोसी किनारमा बसोबास गरिरहेका स्थानीयको घरहरु डुबानमा पर्न थालेको प्रहरीले जनाएको छ ।
वर्षा निरन्तर भइरहेकाले अझै बढ्दै जाने संकेत देखिएकाले नदीनजिक बसोबास गरिरहेकालाई सुरक्षित र सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।
सप्तकोसीमा अधिक बहाव सात लाख क्यूसेकसम्म मापन भएको रेकर्ड छ । एक लाख ६० हजार क्यूसेकसम्मको बहावलाई सामान्य मानिन्छ । दुई लाख ५० हजारभन्दा माथि गएपछि खतराको रूपमा लिइन्छ ।
बहाव तीन लाख ५० हजार क्यूसेकभन्दा माथि पुगेपछि रातो बत्ती बल्छ र खतराको साइरन बज्छ ।
Discussion about this post