इटहरी : नेकपा एमालेबाट निर्वाचित भएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी एकीकृत समाजवादीमा प्रवेश गर्ने हल्लाले एमालेमा तरङ्ग भएको छ ।
शुक्रबार (आज) नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईसहित नेकपा एसका नेताहरूलाई घरमै खानपिनको कार्यक्रम राखेपछि एमाले इटहरीमा तरङ्ग भएको हो । चौधरीलाई भेट्नका लागि नेता नेपाल र राई उनकै घरमा पुगेका थिए । घरमै शुक्रबार बिहानको ‘लन्च’ कार्यक्रम पनि आयोजना गरिएको थियो ।
नेकपा एस इटहरी नगर कमिटीको फेसबुक अकाउन्टबाट मेयर चौधरी र इटहरी ४ का वडाध्यक्ष चन्द्र भट्टराईको टोली नेकपा एसमा प्रवेश गर्ने लेखिएसँगै एमालेमा तरङ्ग छाएको नेताहरू बताउँछन् ।
‘पाहुनालाई घरमै स्वागत गर्नु कुनै अनौठो कुरा त होइन, तर एमाले सुनसरीको विवाद रहेकाले अहिले नेकपा एसका नेताहरूलाई घरमै लन्च राखिनुले तरङ्ग भएको छ,’ एमाले इटहरीका एक नेताले भने, ‘दसैंको शुभकामना आदानप्रदान सँगै गत कार्तिक ६ गते एमाले अध्यक्ष ओली मेयर चौधरीको घरमा आउने कार्यक्रम भएपनि उहाँ आउनुभएन ।’
ती नेताका अनुसार एमाले अध्यक्ष केपीशर्मा ओली गत कार्तिक ६ गते मेयर चौधरीकहाँ खाना खाने कार्यक्रमसँगै शुभकामना आदानप्रदान कार्यक्रममा आउने भनिएपनि उनी आएका थिएनन् । यस्तै, गत बुधबार मात्रै मेयर चौधरीले इनरुवामा एमालेको बैठक चलिरहेको समयमै माइक समेत खोसेका थिए ।
नेकपा एमाले सुनसरीमा गत २०७५ जेठ २ मा फर्किने विषयलाई लिएर चलिरहेको विवादमा उनले माइक खोसेका थिए ।
जेठ २ अघिका अध्यक्ष रमेश बस्नेत र पछिल्लो पटकका अध्यक्ष रेवतीरमण भण्डारीको समूहबीच विवाद भएपछि दुवैजनालाई व्याक गरेर पार्टी इन्चार्ज धर्म निरौलाले बैठकको अध्यक्षता गरेको समयमा अवैधानिक कमिटि र अवैधानिक व्यक्तिले अध्यक्षता गरेको भन्दै उनले माइक खोसेको बताएका थिए । सोही दिन इटहरीमा पत्रकार सम्मेलन गर्दै मेयर चौधरीले सुनसरीमा नेकपा एमाले पार्टी कम्पनीजस्तो भएको भन्दै असन्तुष्टि समेत जनाएका थिए ।
यसअघि एकीकृत समाजवादीका १ नम्बर प्रदेश अध्यक्ष एवम् उदयपुर त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसँग पनि भेटघाट गरेर उनकै घरमा खानपिनको कार्यक्रम राखेको तस्वीर तथा भिडियो उनै मेयर चौधरीले सार्वजनिक गरेका थिए ।
यद्यपि, कतिपय एमाले नेताहरूले भने शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको केहीदिनमै बालुवाटारमै गएर भेटघाट समेत गरेका कारण मेयर चौधरीमा राजनीतिक संस्कार भएकाले नेकपा एसमा जाने हल्लामात्रै भएको तर्क राख्दै आएका छन् ।
Discussion about this post