इटहरी : इटहरीमा फेसबुक ह्याक गर्दै पैसा माग्ने गिरोह सक्रिय रहेको पाइएको छ ।
इटहरी १ निवासी कांग्रेस नेता समेत रहेका रमेश पोखरेलले आफ्नो फेसबुक ह्याक गरेर पैसा मागेको बताए ।
नयाँ फेसबुक आइडी बनाएर आफूसँग भएका अन्य साथीहरूलाई म्यासेजमा पैसा माग्ने गिरोह सक्रिय भएको उनले बताए ।
‘म काठमाडौँमा भएको र बैँकबाट पैसा निस्किएन भन्दै इसेवामा पैसा मागेको प्रमाणहरू फेला परेपछि सर्तक रहन अपिल गरेको छु,’ पोखरेलले टाकुरासँग भने, ‘अहिलेसम्म २० जनाभन्दा बढीको यस्तो खालको म्यासेज मकहाँ आइसकेको छ, कसैलाई पनि यस्ता म्यासेजको भ्रममा नपर्न आग्रह गर्दछु ।’
उनले आफू अहिले जिल्ला अदालत इनरुवामा भएपनि काठमाडौँ भएको भन्दै म्यासेजहरू आइरहेको बताए ।
‘क्यू आर कोडमा स्क्यान गर्नुपर्ने र हेमन्त गुरुङको नाम देखाउने गरेको थियो, फेरि त्यो थाहा पाएपछि रमेश पोखरेल नै बनाइएको पाइयो,’ उनले भने, ‘यस विषयमा प्रहरीहरूसँग समन्वय गरी साइबर अपराध अन्तर्गत मुद्वा लगाउने तयारी गरिरहेको छु ।’
प्रहरीले साइबर अपराध सम्बन्धि मुद्वा काठमाडौँ महानगरीय प्रहरी वृत्तबाट मात्रै कारबाही र अनुसन्धान गर्ने भएपनि यहाँबाट निवेदन लगाउने तयारी भइरहेको उनले बताए ।
पोखरेल एक प्रतिनिधि मात्र हुन् ।
यसअघि कांग्रेस प्रदेश १ का सदस्य समेत रहेका इटहरी निवासी सूर्य राईको पनि फेसबुक ह्याक गरेर पैसा मागेको पाइएको थियो ।
राईलाई सम्पर्क गर्दा आफूलाई बदनाम गराउने नयाँ फेसबुक आइडी बनाएर पैसा मागेको बताए ।
उनले भने, ‘मलाई बदनाम गराउने उदेश्यले मेरो नामबाट आइडी बनाएर मसँग भएका साथीहरूलाई रिक्वेस्ट पठाएर पैसा मागिरहेको छ ।’ उनले अहिले फेसबुक ह्याक गरी पैसा माग्नेको गिरोहनै सक्रिय रहेको दाबी गरे ।
यता, इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काले साइबर अपराध सम्बन्धि उजुरीहरू आइरहेकाले अनुसन्धानको क्रमलाई अगाडि बढाएको जानकारी दिए ।
‘हामीले खाताबाट ट्रान्सफर भएका रकम कुन खाताबाट कसकोमा गएको भन्नेबारे बैंकसँग सहकार्य गरि स्टेटमेन्ट मगाएका छौं,’ डीएसपी खड्काले टाकुरालाई भने, ‘हामी अनुसन्धानकै क्रममा रहेकाले थप कुरा बाहिर आएको छैन ।’
उनले अपराध सम्बन्धि उजुरी आए आफूहरूले नै हेर्ने बताउँदै साइबर ब्यूरोमा समेत समन्व्य गरि अनुसन्धान भइरहेको बताए ।
Discussion about this post