इटहरी : इट्टा उद्योगमा कोइलाको विकल्पमा बायोमास पेलेटको प्रयोग हुन थालेको छ ।
नेपालमा सञ्चालन हुने इट्टा उद्योगहरु भारतीय र तेस्रो देशबाट आयात हुने कोइलामा भर परेका छन् । तर भारत सरकारले कोइलाको ओसारपसारमा रोक लगाएपछि अहिले नेपालमा युरोपेली देशसँगै अमेरिकाको कोइला आयात हुने गरेको छ ।
इट्टा उत्पादनमा लाग्ने लागतमध्ये ४० प्रतिशतसम्म खर्च कोइलामा लाग्ने इट्टा उद्योग सञ्चालक बताउँछन् । यसलाई न्यूनीकरण गर्दै बायोमासबाट नेपालमा इट्टा उत्पादन प्रयास सुरु गरिएको छ ।
यसले कोइला अभावमा नेपाली इट्टा उद्योग बन्द हुने अवस्थामा कमी आउने नेपालमा बायोमास प्रणाली विकास र प्रयोगको क्षेत्रमा काम गर्दै आएको संस्था इसिमोडकी वरिष्ठ वायुमण्डल विज्ञ विद्या बन्माली प्रधान बताउँछिन् । इट्टाको प्रयोग शून्य नै बनाउन नसके पनि त्यसको प्रयोग केही हदसम्म घटाउने प्रयासमा आफूहरु लागिपरेको उनको भनाइ छ ।
हाम्रै वरिपरि रहेका र हाम्रो खेतिबालीमा उत्पादन भएर खेर जाने वस्तुबाट बायोमास पेलेट बनाउन सकिन्छ । यसले खेर जाने घाँसपराललाई व्यवस्थापन गर्नुका साथै अन्य फोहोरलाई व्यावसायिक सम्भावना भएका सामग्रीको रुपमा पुनः प्रयोग गर्न सहयोग गर्दछ ।
नेपालमा बायोमास पेलेटको प्रयोग हुन सके नेपालबाट विदेशिने लाखौँ नेपाली मुद्रा सञ्चित हुने मीनर्जीकी प्रबन्ध निर्देशक उषा मास्केको भनाइ छ । बायोमास पेलेट छिट्टै जल्नुका साथै कम समयमा नै तापमान उच्च हुने भएकाले कोइलाभन्दा यो उचित मानिन्छ । साथै बायोमास पेलेटको प्रयोग गर्दा निस्कने धुवाले वायुमण्डलमा कम असर गर्दछ ।



















Discussion about this post