धरान : धरानस्थित आसरा सुधार केन्द्र पानवारीमा महिला लागूऔषध दुर्व्यसनीको उपचार तथा पुनर्स्थापनाका लागि छुट्टै भवन निर्माण हुने भएको छ ।
महिला दुर्व्यसनीको सङ्ख्या बढ्दै गएपछि उनीहरूको उपचार र पुनर्स्थापनालाई लक्षित गरी महिला सुधार केन्द्र भवन निर्माण प्रक्रिया अघि बढाइएको हो । यसअघि केन्द्रमा पुरुष दुर्व्यसनीलाई मात्र उपचार सेवा प्रदान गरिँदै आएको थियो ।
आज (बिहीबार) आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले भवनको शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा बोल्दै खनालले लागुऔषध दुर्व्यसनमा फसेका महिलाको उपचार र पुनर्स्थापनाका लागि छुट्टै सुधार केन्द्र आवश्यक रहेको बताए । सुविधासम्पन्न भवन निर्माण भएपछि दुर्व्यसनबाट प्रभावित महिलालाई उपचारसँगै समाजमा सहज रूपमा पुनःस्थापित हुन सहयोग पुग्ने उनको विश्वास थियो ।
भवन शिलान्यास कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्रसिंह थापा, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्ल तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीको उपस्थिति थियो ।
त्यस्तै, सुधार केन्द्र सञ्चालक समितिका प्रथम उपाध्यक्ष शिला बज्राचार्य, स्थानीय सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।
















Discussion about this post