इटहरी (डेस्क) : प्रायजसोः दुर्घटना भएपछि दुर्घटना गराउने व्यक्तिले उपचार खर्च व्यहोर्ने गरेका छन् । तर, कतिपय अवस्थामा भने प्रहरीको मिलेमतोमा दुर्घटना गराउने व्यक्ति छुट्ने हुँदा पीडित झनै पीडित भएका उदाहरण पनि छन् ।
यसैबीच दुर्घटना गराउने पक्षले उपचार खर्च नबेहोरेपछि विराटनगरको विराट नर्सिङ अस्पतालबाट बच्चा लिएर बाबुआमा भागेका छन् । दुर्घटनामा परेर घाइते बनेका तीन वर्षीय बालक कार्तिक सदालाई लिएर बाबु जगदीश र आमा गेनादेवी विराटनगर अस्पतालबाट भागेका हुन् ।
सिरहा नगरपालिका १४ खिरौनाका कार्तिकलाई मंसिर २० गते सिरहा १३ का वडाध्यक्ष सचिन साहको ज २ त ७०३ नम्बरको ट्याक्टरले सिरहा १४ लबटोलीमा ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो ।
अस्पतालका प्रशासन प्रमुख पदम विनाडीका अनुसार अत्यन्तै नाजुक अवस्थाका नाबालकलाई उपचारका लागि ल्याइएको थियो । ‘टाउकाको शल्यक्रिया गरेर बच्चालाई बचाउनसम्म सकियो,’ विनाडीले भने, ‘तर प्रतिबद्धताअनुसार दुर्घटना गराउने पक्षले उपचारबापतको खर्च नतिरिदिएपछि बच्चालाई लिएर बाबुआमा भागेछन् ।’
नाबालकको दाहिने आँखाको दृष्टि गुमेको छ । आवाज बिग्रिएर राम्ररी बोल्नै सक्दैनन् ।
माघ १६ गते नै डिस्चार्ज गरिदिए पनि उपचारबापतको सबै पैसा नतिरेको भन्दै घर लैजान नदिएर नाबालकलाई डेढ महिना अघिदेखि अस्पतालमै बन्धक बनाइएको थियो ।
प्रशासन प्रमुख विनाडीका अनुसार अस्पतालमा उपचारबापत सात लाख १९ हजार आठ सय २८ रुपैयाँ खर्च भएको छ । जसमा वडाध्यक्ष साहले तीन लाख ५१ हजार सुरुमै तिरिदिएका थिए । तीन लाख ६८ हजार आठ सय २८ रुपैयाँ तिर्न बाँकी छ । औषधीको ८८ हजार र होटलमा खाना र नास्ताको ६० हजार रुपैयाँ पनि तिर्न बाँकी नै छ ।
यस्तै, दुर्घटना गराउने ट्याक्टर चालक सिरहा १४ का धनवीर सदालाई प्रहरीले अभद्र व्यवहारको मुद्दा मात्रै चलाएको खुलेको छ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि नभएका उनी जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा छुटिसकेका छन् ।
‘जनप्रतिनिधिको ट्याक्टरले दुर्घटना गराएपछि चालकलाई बचाउन चौतर्फी दबाब आयो,’ प्रहरी स्रोतले भन्यो, ‘दबाब र प्रभावकै कारण मिलेमतोमा घटनाको अनुसन्धान पनि गलत ढङ्गले भयो ।’ अस्पतालका एक कर्मचारीका अनुसार सिरहा प्रहरी प्रमुख एसपी सुदीपराज भण्डारीले ट्याक्टर धनी वडाध्यक्षले उपचारको पैसा तिर्न नसक्ने भन्दै बिरामीलाई त्यत्तिकै मिलाएर छाडिदिन बारम्बार दबाब दिएका थिए ।
कोशी अनलाइनको सहयोगमा












Discussion about this post