इटहरी : इटहरी उपमहानगरपालिकाले सर्जिकल मास्क पाँच रुपैँया भन्दा बढीमा नबेच्न निर्देशन दिएको छ ।
आज विहान बजार अनुगमनका क्रममा दुई देखि तीन रुपैँया खरीद मूल्य रहेको मास्क पाँच रुपैँया भन्दा बढी मूल्यमा नबेच्न निर्देशन दिएको हो ।
जिल्ला प्रशासन कार्यालय, उपभोक्ता अधिकारकर्मी, प्रहरी र संचारकर्मी सहितको टोलीले अनुगमन गर्दा १० रुपैँयामा बेच्ने गरेको पाइएको हो । अनुगमनका क्रममा मास्क खरीद मूल्य भन्दा पाँच गुणासम्म बढीमा बेच्ने गरेको पाइएको इटहरी उपमहानगर राजश्व प्रशासन शाखा प्रमुख नवीन भट्टराईले जानकारी दिए ।
पाँच वटा औषधी पसलको अनुगमन गर्दा चार वटाले सर्जिकल मास्क खरिद गरेको बिल समेत नदेखाएको उनले बताए । ९० रुपैँया खरीद मूल्य रहेको सेनिटाइजर १ सय ६५ रुपैँयामा बेचेको पाइएको हो ।
राजश्व प्रशासन शाखा प्रमुख भट्टराईले तत्काललाई बढी मुनाफा राखेर नबेच्न सचेत गराइएको, सर्जिकल मास्क पाँच रुपैँया भन्दा बढीमा नबेच्न निर्देशन दिइएको वताए । निर्देशन पालना गराउन थप कडाइका साथ अघि बढ्ने भट्टराईले बताए ।
उनले भने, ‘सर्वसाधारण मास्क किन्न नसकेर एउटै मास्क धोएर लगाइरहेका छन्, बजारमा यस्तो छ, पाँच रुपैँयामा बेच्दा दोब्बर बढी फाइदा हुन्छ ।’
अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेले २ रुपैँया खरीद मूल्य परेको मास्क १० रुपैँयामा बेच्न नमिल्ने बताए ।














Discussion about this post