उदयपुर : उदयपुरमा कोरोना कारण कहालीलाग्दो घटना भएको छ । पाँचदिनको अन्तरमा एकै घरका तीनजनाको कोरोनाका कारण मृत्यु भएको छ ।
एकै घरका दाजुभाइको तीनदिनको अन्तरमा मृत्यु भएको दुई दिनमै आमाको समेत मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार एकै घरका तीनजनाको पाँचदिनको अन्तरमा कोरोनाका कारण मृत्यु भएपछि अहिले स्थानीयबासी विक्षिप्त छन् ।
कोरानाकै कारण दुई छोरा गुमाएकी रौतामाई गाउँपालिका–७ मुर्कुचीकी ७१ वर्षीया तिलमाया मस्रांगी मगरको बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको हो ।
तीन दिनको फरकमा जेठ १५ र १८ गते क्रमशः ४५ वर्षीय साहिलो छोरा तुलबहादुर र ५० वर्षीय जेठो छोरा पुस्कलको उपचारकै क्रममा मृत्यु भएको थियो ।
उनीहरुको विराटनगरस्थित विराट मेडिकल र नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको सुवेदीले जानकारी दिए । तिलमायालाई दुई साताअघि परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि गाईघाटस्थित मदन भण्डारी आँखा अस्पतालको आइसोलेसन वार्डमा राखी उपचार भइरहेको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले जानकारी दिए ।
त्यहाँ सामान्य उपचारपछि तिलमायाकै आग्रहमा उनलाई होम आइसोलेसनमा लगिएको उनले बताए ।
उनको बिहीबार बिहान मृत्यु भएको खड्काले बताए । पाँचदिनको अन्तरमै जिल्लामा एकै घरका दुई दाजुभाइसहित आमाको मृत्यु भएको घटना पहिलो हो ।
यो पनि – उदयपुरमा तीनदिनको फरकमा एकै घरका दाजुभाइको कोरोनाका कारण मृत्यु














Discussion about this post