मोरङ : मोरङको कानेपोखरी गाउँपालिकाले दाइजो नलिने दम्पत्तिलाई सम्मान गर्ने नीति ल्याएको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत पालिकाले दाइजो नलिने दम्पत्तिलाई वडा कार्यालयको सिफारिसमा सम्मान गर्ने नीति लिएको हो ।
पालिकाले आगामी आर्थिक वर्ष छोरी मात्रै जन्माउने परिवारलाई नगद पुरस्कार दिने नीति समेत ल्याएको छ ।
दुई वा सोभन्दा बढी छोरी जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिका छोरीलाई जनही पाँच हजार पुरस्कार दिने नीति ल्याएको गाउँपालिका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष सुशील बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार छोरीहरूको खातामा पालिकाले जनही पाँच हजार जम्मा गरिदिनेछ ।
दाइजो प्रथा र छोरीमाथिको विभेद अन्त्यका लागि पुरस्कृत गर्ने योजना ल्याएको गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले बताए ।
आगामी आर्थिक वर्षका लागि ७६ करोड ९६ लाख ३० हजार तीन सय ४१ रुपैयाँ बराबरको बजेट ल्याएको पालिकाले कृषि, स्वास्थ्य, शिक्षा, रोजगार, उद्योग, उर्जा, पर्यटन, ब्यापार र पूर्वाधारलाई प्राथमिकतामा राखेको पालिकाले बजेटमा मुख्य चोकमा निःशुल्क वाईफाई जडानको योजना पनि समावेश गरेको छ ।












Discussion about this post