मोरङ : मोरङको बूढीगंगामा जग्गा, हार्डवेयर व्यवसायी तथा मालपोतका कर्मचारी चढेको कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
बूढीगङ्गा गाउँपालिका १ स्थित आरती स्ट्रिप्स उद्योग अगाडि शनिबार राति ११ः४५ बजे भएको दुर्घटनामा हार्डवेयर व्यवसायीको ज्यान गएको हो ।
पूर्व क्षेत्रीय ट्राफिक पहरी कार्यालय इटहरीका अनुसार दक्षिणतर्फ आउँदै गरेको बा १८ च ९७६ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना हुँदा जग्गा कारोबारी तथा हार्डवेयर व्यवसायी विराटनगर महानगरपालिका ३ का ४० वर्षीय रमेश आचार्यको मृत्यु भएको हो ।
तीव्र गतिमा रहेको कार आफै अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मालपोतका कर्मचारीसहित चारजना घाइते भएका छन् ।
दुर्घटनामा परेर चालक बूढीगङ्गा १ का ४५ वर्षीय महाप्रसाद भट्टराई, ४० वर्षीय भीमप्रसाद घिमिरे, ३३ वर्षीय सन्तोष घिमिरे र विराटनगर ३ का २० वर्षीय विवेक नेपाल घाइते भएका छन् । प्रहरी स्रोतका अनुसार महाप्रसाद, भीम र सन्तोष जग्गा कारोबारी हुन् । घाइतेमध्ये मालपोत कार्यालय विराटनगरका अधिकृतसमेत रहेका विवेकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेहरुको विराट र न्यूरो अस्पतालमा उपचार भइरहेको छ । चालकले मादक पदार्थ सेवन (मापसे) गरेर कार तीव्र गतिमा चलाएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।














Discussion about this post