धरान : कांग्रेसको इतिहासमै पहिलोपटक धरानमा आफ्नै पार्टी कार्यालय भवन निर्माण भएको छ । भवन निर्माणको कार्य सम्पन्न भई आन्तरिक सजावट गर्ने काम भइरहेको छ ।
कांग्रेस धरानका नगर सभापति तिलक राईका अनुसार महिला नेतृ एवं वडा नं. १८ बाट निर्वाचित वडा सदस्य दिलकुमारी राईले वडा नं. १७ मा भवन बनाउनका लागि निःशुल्क २५ धुर जग्गा उपलब्ध गराएकी थिईन् । तर, त्यस ठाउँमा पायक नपर्ने भएकाले २ नं. वडामा ५ धुर उपलब्ध भएको जग्गामा हाल भवन बनिरहेको छ ।
सभापति राईले भने, ‘पार्टीका नेता साथीहरुले त्यहाँ अपायक पर्ने भयो, पायक पर्ने ठाउँमा भवन निर्माण गर्नुपर्छ भन्ने कुराहरु उठ्यो, दिदीकै वडा नं. २ मा जग्गा रहेछ, अहिले सो जग्गामा तीन तलाको भवन बन्दैछ ।’ धरान वडा नं. २ स्थित बलबहादुर राई÷भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको नाममा तीन तलाको पार्टी कार्यालय भवन करीब ५० लाख रुपैँयाको लागतमा निर्माण गरिएको छ । अब चाडैँ भवनको उद्घाटन गर्ने सभापति राईको भनाई छ ।
धरानमा कांग्रेसको १२ औं महाधिवेशनमा १४ सय क्रियाशिल रहेको थियो भने १३ औं महाधिवेशनमा ३३ सय क्रियाशिल सदस्य रहेको थियो । १४ औं महाधिवेशनसम्म आइपुग्दा तिलक राईको नेतृत्वले ४७ सय क्रियाशिल सदस्यता बनाउन सफल भएको कांग्रेस धरानका सचिव श्याम पोखरेलले बताए ।

१३ औं महाधिवेशनबाट निर्वाचित भएको समितिले धरानमा पहिलो पटक उपनिर्वाचनमा जीत हाँसिल गर्न सकेको छ । संसद विघटन विरुद्धमा नगर समितिको नेतृत्वमा विभिन्न कार्यक्रमहरु गरिएको सचिव पोखरेलले सुनाए । उनका अनुसार पार्टीको केन्द्रिय समितिको निर्देशनमा आएको हरेक कार्यक्रम यही नेतृत्वले सम्पन्न गरेको छ ।
उनले भने, ‘२० वटै वडामा जागरण अभियान, पार्टीको कार्यकर्ताहरुलाई हरेक सुख दुःखमा साथ दिनुका साथै कुनै पनि कार्यकर्तामा दुःखद घटना हुदाँ समवेदना पत्र लगेर सान्त्वना दिने कार्यक्रमको अभ्यास यही नेतृत्वले बसाएको छ ।’ उपनिर्वाचनमा वडा, नगर, क्षेत्रदेखि लिएर जिल्ला सम्ममा चारै तहको नेतृत्व बनाउन सफल भएको पोखरेलको धारणा छ ।
१३ औं महाधिवेशनपछि विधानमा भएको अधिकार प्रयोग गरी हरेक वडामा, हरेक मतदान केन्द्रमा अधिकार प्राप्त समितिहरु निर्माण गरिएको १३ नं. वडाका मतदान केन्द्र संयोजक आशिष कट्वालले जानकारी दिए । १३ औं महाधिवेशनबाट आएका नेतृत्वले केन्द्रिय नेताहरु ल्याएर धरानमा विभिन्न कार्यक्रमहरु गर्न सफल भएको कट्वालले दाबी गरे । उनले भने, ‘पार्टीका सभापति, बरिष्ठ नेता लगायतका नेताहरु धरान आएका छन् ।’
कांग्रेस धरानका सह–सचिव एवं महिला विभाग प्रमुख पञ्चकला राईले १३ औं महाधिवेशनपछि पार्टीमा महिलाको भूमिका एकदमै सक्रिय रहेको बताइन् । उनले भनिन्, ‘१३ औं भन्दाअघि महिलाहरुको उपस्थिति कम थियो ।’ अहिलेको नेतृत्वले महिला विभागको अनुरोधमा महिलाहरुलाई प्रशिक्षण कार्यक्रमहरु गराएको उनले सुनाईन् ।
विगतमा भन्दा अहिले पार्टीमा महिलाहरुको सक्रियता बढेर गएको उनको बुझाई छ । पार्टी संगठीत हुनुका साथै आकर्षण बढेर गएको उनले बताइन् ।



















Discussion about this post