खोटाङ : भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जना पक्राउ परेका छन् ।
घरमा अवैधरूपमा हातहतियार भरुवा बन्दुक सहित खरखजना लुकाएर राखेको भनी स्थानीय बासिन्दाले दिएको गोप्य सूचनाका आधारमा वडा सदस्य पर्शुराम बानियाँसहित तीन जनालाई प्रहरीले सोमबार राति उनीहरुको घरैबाट पक्राउ गरेको हो ।
पक्राउ पर्ने अन्यमा वडा सदस्य पर्शुरामका छिमेकी ६९ वर्षीय मदनबहादुर बानियाँ तथा ३३ वर्षीय मिलन बानियाँ रहेका प्रहरीले जनाएको छ ।
पक्राउ परेका वडा सदस्य पर्शुरामको घरबाट लोड नगरेको एक थान भरुवा बन्दुक तथा मदनबहादुरको घरबाट छर्रा र बारुदसमेत लोड गरेको एक थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने १५० ग्राम बारुद, ४०० ग्राम धातुका छर्रा र सलाई तथा मिलनको घरबाट छर्रा, बारुद लोड गरेको एक थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका वडा सदस्यसहित तीनै जनाविरुद्ध अवैध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा दर्ता गरी हिरासतमा राखेर कारवाहीको प्रक्रिया शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले जानकारी दिएका छन् ।














Discussion about this post