मोरङ : मोरङमा भिन्नाभिन्नै घटनामा दुईजनाको मृत्यु भएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार नालीमा डुबेर र करेन्ट लागेर मोरङमा शुक्रबार दुई पुरुषको मृत्यु भएको हो ।
नालीमा जमेको पानीमा डुबेर धनपालथान गाउँपालिका ७ कदमाहाका ३५ वर्षीय रामभरोस शर्मा केवरतको मृत्यु भएको छ ।
सडक नजिकको नालीमा डुबाएको सनपाट निकाल्न भनेर उनी बिहान ७ बजेतिर घरबाट निस्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घर नफर्किएपछि खोजी गर्ने क्रममा पानी जमेको पाँच फिटजति गहिरो नालीमै डुबेर मृत्यु भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
यस्तै, करेन्ट लागेर विराटनगर महानगरपालिका १८ का २८ वर्षीय पप्पुकुमार मण्डलको मृत्यु भएको छ ।
प्रहरीका अनुसार उनी रघुपति जुट मिल्सका कामदार हुन् । काम गर्ने क्रममा बिहान ११ बजेतिर करेन्ट लागेर घाइते भएका मण्डलको उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।











Discussion about this post