इटहरी : इटहरीमा तीन वर्षअघि म्याद गुज्रिएको सामान बेच्न राखिएको पाइएको छ । इटहरी उपमहानगरपालिकाले खनार बजारमा गरेको अनुगमनका क्रममा तीन वर्षअघि नै म्याद गुज्रेका समान बेच्न राखेको पाइएको हो ।
अनुगमन टोलीले म्याद गुज्रिएका समान नष्ट समेत गरेको छ । खनार बजारका १४ वटा खाद्यान्न तथा किराना पसलको सोमबार अनुगमन गरिएको हो ।
उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्यण कार्यालयका प्रतिनिधि, उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरी सहित अनुगमन गरिएको हो । अनुगमनका क्रममा पाँच वटा पसलमा म्याद गुज्रिएका समान बेच्न राखेको पाइएको हो । एउटा पसलमा तीन वर्षअघि म्याद गुज्रिसकेको समान समेत राखेको पाइएको छ ।
चाउमिन मसला, मन्थन गोल्ड सुजी, मुसुरो दाल, ज्वाँनो, पवित्रा मकै चामल, पूर्णिमा गरम मसला, सेन्चुरी मसला, मिट मसला, गोल्ड सेवाई, वजाज अल्मोण्ड तेल, अमृत कफी चकलेट र विकेएस मसला लगायतका पसलमा समान म्याद गुज्रिएको पाइएको हो । पाँच वटा पसलमा मूल्य सूची नराखेको पाइएको उपमहानगरका उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भटटराईले जानकारी दिए ।
अनुगमनका क्रममा ब्यवसाय प्रमाणपत्र लिन, पसल नवीकरण गर्न र लेवल गरेर मात्र समान बेच्न निर्देशन दिइएको छ । पहिलो पटक भएकाले म्याद गुज्रिएका समान नष्ट गरी त्यस्ता समान नबेच्न र छुटटै ठाँउ वनाएर राख्न निर्देशन दिइएको भट्टराईले बताए ।














Discussion about this post