इटहरी : आज बिहीबार साँझ घरघरमा दीपावली गर्दै धनधान्य र एश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ । तिथी घटबढका कारण हिजो बुधबार काग र कुकुर पूजा एकैदिन गरियो । कात्तिक कृष्ण औंशीका दिन ‘धन सम्पतिले भरिपूर्ण होस्’ भन्ने कामनासहित धनधान्यकी देवी लक्ष्मीको पूजाअर्चना गरिने परम्परा छ ।
औंशीतलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालो प्रकाशले आलोकित पार्ने कार्य घरघरा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकार आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसैदिन पनि कसैकसैले लक्ष्मीपूजा पनि गर्ने गर्छन् ।
भगवान् रामचन्द्रले लोककल्याण भावनाले रावणादी विविध असुरको नाश गरेपछि कात्तिक कृष्ण औंशीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसियालीमा अयोध्यावासीले दीपावली गरेको प्रसंग छ । यमराजले यमपञ्चकका पाँच दिन बहिनी यमुनाकहाँ बसेका कारण ‘यसदिन मृत्यु हुने कुनै मानिसले नरक देख्नुनपर्ने’ विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएकोले यो दिनको ठूलो महत्व रहेको तथ्य स्पष्ट हुन्छ ।
सुख सम्पति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभलाभ लेख्ने धार्मिक परम्परा छ । आज बिहीबारै साँझ भैलो पनि खेलिँदै छ । भैलो खेल्न घरआँगनमा आएकालाई सेलरोटी र दक्षिणासहित बिदा गरिन्छ ।
दीपावलीमा ‘तमसोमा ज्योतिर्गमय’ अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागि ‘आफूलाई आत्मिक रूपमा सुख सन्तोष प्रदान गर’ भनेर यो दिन चेलीबेटी भैलो खेलेर रमाइलो गर्छन् । वर्षका चार महत्वपूर्णमध्ये लक्ष्मीपूजाको रातलाई ‘सुखरात्री’ भनिन्छ । यसदिन स्त्री जाति विशेषगरी कुमारी केटीले घरघरै गई भैलो खेल्ने चलन छ ।














Discussion about this post