मोरङ: प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले संसदबाट विश्वासको मत पाएका छन्। त्यसअघि संसदलाई सम्बोधन गर्दै उनले विश्वासको मत मागेका थिए । ९२ सदस्यीय प्रदेशसभामा मत विभाजन हुँदा राईको पक्षमा ५० मत खसेको छ ।
उनको विपक्षमा २९ मत खस्यो । प्रमुख प्रतिपक्षी दल एमालेसँग सभामुखसहित ४१ सांसद थिए । तीमध्ये ३९ सांसदले मतदान प्रक्रियामा सहभागी हुन पाउने थिए । एमाले सांसद गुलेफुन खातुन फौजदारी अभियोगमा दोषी ठहर भएपछि फरार छिन् ।
एमालेका सबै सांसद उपस्थित नहुँदा मुख्यमन्त्री राईको विपक्षमा २९ मत मात्रै खसेको हो । प्रदेशका पूर्वमुख्मन्त्री शेरधन राई, पूर्वभौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङलगायतका एमाले सांसद सदनमा अनुपस्थित रहे । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एक सांसद मात्रै छन् ।
मुख्यमन्त्री राईले मंगलबार नै विश्वासको मत लिने कार्यसूची थियो । तर प्रतिपक्षी एमालेका सांसद उपस्थित नभएपछि विश्वासको मत लिने समय बुधबारसम्मलाई धकेलिएको थियो ।
मुख्यमन्त्री राईले विश्वासको मतसम्बन्धी प्रस्ताव गत आइतबार संसद सचिवालयमा दर्ता गराएका थिए । विश्वासको मत लिनलाई दुई दिनअघि त्यससम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता गराउनुपर्ने व्यवस्था छ ।
नेकपा ९एकीकृत समाजवादी० का नेता राई गत कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । पाँच दलीय गठबन्धनको तर्फबाट उनी प्रदेश १ को तेस्रो मुख्यमन्त्री बनेका हुन्। संसदबाट विश्वासको मत लिएपछि प्रदेश सरकार विस्तार गर्ने उनको तयारी छ ।
प्रदेशसभामा बहुमत पुर्याउन ४७ मत आवश्यक पर्नेमा राईले ५० मत पाएका हुन् । नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र संघीय लोकतान्त्रिक मञ्च गरेर ५ दलीय गठबन्धनसँग ५० जना सांसद थिए।
किशोर बुढाथोकीले अन्नपुर्ण पोस्टमा लेखेको समाचार साभार गरिएको हो ।












Discussion about this post