इटहरी : रामेले माल काट्यो, श्यामेले सो गर्यो, हर्केले खायो माल
मरिमराउको घरजस्तो छैन, यो त हो, जुवाको खाल ।
चर्चित हाँस्य गायक श्रीकृष्ण लुईँटेल ‘बोकेदाह्री’ ले भर्खरै सावर्जनिक गरेको गीतमा उल्लेखित माथिको शब्द सुन्दा तीतो लागेपनि लागेपनि वर्तमान समयका लागि यथार्थ हो ।
यथार्थ मात्रै नभइ मरिमराउमा भेला हुने मानिसहरूका लागि पनि झटारो हो ।
समाजमा अहिले मलामी जाने मान्छे नपाइने अवस्थामा जुवा, तास खेल्न भनेपछि युवा उमेरका मानिस पनि तुरुन्तै सहभागी भइहाल्ने दृश्यलाई गीतको भिडियोमा देखाइएको छ ।
गायक लुईँटेल भन्छन्, ‘अहिले कोही मानिस मरेको अवस्थामा मलामी पाईँदैन, तर जुवा, तास खेल्नकै लागि भएपनि भेला भइहाल्ने समाजमा छौँ, हामी ।’
सधैँको समयमा हाँस्य गीत गाउने उनले यसपटक समजमा भएको यथार्थ चित्रणलाई उल्लेख गर्दै आफैं लेखेर गाए । सकारात्मक सन्देश दिनका लागि उनले यसपटक समाजको वर्तमान अवस्थालाई चित्रण गरेको बताए । मरिमराउमा तास खेल्न नहुने उनको तर्क छ ।
‘एक्का ट्रायल’ शीर्षकको उक्त गीत आफ्नो आधिकारिक युटुब च्यानलमार्फत सार्वजनिक गरेका ‘बोकेदाह्री’ ले पहिलो अन्तरामा भनेका छन्, ‘डाँडाघरे काका मरे, तास खेल्न पाइने भो भरे ।’ परिवारभित्रका दुई सदस्य जुवाडे भएपछि उनीहरूलाई सुधार्न आमाले छोरा ‘बोकेदाह्री’ को सहारा लिन्छिन् ।
त्यसपछि डाँडाघरे काका बितेको खबर आएपछि ‘जुवाडे’ प्रवृत्तिका मान्छेहरू तास खेल्न पाइने भयो भनेर खुसी हुन्छन् । ‘बोकेदाह्री’ ले भने बुबा र भाइलाई सुधार्ने प्रतिबद्धता आमासमक्ष गर्छन् । सँगै गीत बज्न थाल्छ, ‘डाँडाघरे काका मरे, तास खेल्न पाइने भो भरे ।’
सामाजिक कुरीतिलाई गीतमार्फत उठान गरेका उनले अहिले सन्देशमुलक गीतले भ्यूज नपाउने तर नकारात्मक शब्द राखेर गीत लेखिएको भए भ्यूज पाउने गरेको बताए । मराउ भएका घरमा रातको समयमा समवेदना दिनु स्वभाविक भएपनि जुवा, तास खेलेर बाजी राख्नु अशोभनीय हुने उनको तर्क छ ।
म्यूजिक भिडियोमा गायक बोकेदाह्रीसँगै, केशव रायमाझी, कल्पना पाण्डे, राजन भण्डारी, सङ्गीता यादव, विशाल गदाल, रमेश भट्टराई, क्षितिज कोइराला, सुजल अधिकारी, विकल दाहाल, विनोद कार्की र प्रदीप भण्डारीको अभियन रहेको छ ।
भिडियो














Discussion about this post