धरान : धरान उपमहानगरपालिकाको आयोजनामा सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगिता हुने भएको छ ।
सोमबार (आज) नगर प्रमुख तिलक राईको अध्यक्षतामा बसेको नगर खेलकुद समितिको बैठकले सुपर ८ लिग फुटबल प्रतियोगिता यही फागुन २८ गते शनिबारदेखि चैत्र १३ गतेसम्म धरान १६ स्थित रंगशालामा गर्ने निर्णय गरिएको हो ।
२२ औं संस्करणको अन्तर वडा स्तरीय गोधुली रनिङ कप फुटबल प्रतियोगितामा उत्कृष्ट सुपर ८ भित्र पर्ने वार्डहरुले सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।
उपमहानगरपालिकाका फुटबल प्रशिक्षक अर्जुन राईका अनुसार सुपर ८ लिग फुटबल प्रतियोगितामा धरानका वडा नं. ८, ११, १३, १४, १५, १६, १८ र १९ ले सहभागिता जनाउनेछन् ।
प्रतियोगिताको पुरस्कारको बारेमा भने खेलकुद समितिको पुनः अर्को बैठक बसेर घोषणा गरिने जनाईएको छ । यस्तै, बैठकले कोरोना महामारीका कारण गत वर्षदेखि स्थगित भएको ग्रासरुट फुटबल प्रशिक्षण पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिकाका फुटबल प्रशिक्षक राईले यही फागुन १४ गतेदेखि प्रत्येक शनिबार ६ वर्षदेखि १२ वर्षसम्मका बालबालिकाहरुलाई ग्रासरुट फुटबल प्रशिक्षण गराईने जानकारी दिए ।
उनका अनुसार धरान १६ स्थित रंगशालामा प्रत्येक शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म फुटबल प्रशिक्षण गराईनेछ ।
यसैगरी, धरानमा नगरपालिका कर्मचारी (महिला/पुरुष) ब्याडमिन्टन प्रतियोगिता पनि हुने भएको छ । आज बसेको बैठकले यही फागुन २४ र २५ गते दुईदिन सम्म ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिने निर्णय गरेको हो ।
यस्तै, धरान उपमहानगरपालिकाले यही फागुन २५ गतेदेखि २८ गतेसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने निर्णय गरेको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उशु, कराते, तेक्वान्दो, भलिबल, एथलेटिक्स र कबड्डी खेल हुनेछन् ।














Discussion about this post