इटहरी : रोलिङ क्लब झापा, सुनसरीमा जारी बाह्रौ संस्करणको अन्तराष्टिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
इटहरी रंगशालामा आज भएको तेस्रो क्वाटरफाइनल खेलमा पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुनलाई २–१ गोल अन्तरले पराजित गर्दै रोलिङ क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
रोलिङ क्लबका लागि बिदेशी खेलाडी फोफना फोडे र मार्टिनले एक एक गोल गरे । एभिनियरको तर्फबाट केन्नीले एक गोल फर्काए ।
खेलमा एभिनियर क्लबले अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पराजित बन्न पुग्यो । एभिनियरको तर्फबाट खेलको २७ औं मिनेटमा केन्नीले एक गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।
त्यसको एक मिनेट लगत्तै रोलिङ क्लबको तर्फबाट फोफनाले २८ औ मिनेटमा एक गोल गरेर खेल बराबरीमा ल्याए । खेलको निर्धारित ९० मिनेटसम्म कुनै टिमबाट थप गोल हुन नसकेको अवस्थामा थपिएको अतिरिक्त २ मिनेटको समयमा मार्टिनले रोलिङ क्लबका लागि निर्णायक गोल गरे ।
आजको खेलको म्यानअफ द म्याच रोलिङ क्लबका पिटर सेगुन घोषित भए । उनले नगद १० हजार पुरस्कार पाए ।
मंगलबारको अन्तिम क्वाटरफाइनल खेल न्युरोड टिम एनआरटी र सगरमाथा फुटबल क्लब मोरंगबिच हुने आयोजकले जनाएको छ । चैत्र २६ गतेसम्म हुने प्रतियोगितामा दुई बिदेशी सहित ८ टिमले सहभागी जनाएका छन ।
प्रतियोगिताको बिजेताले सात लाख पाउनेछन् भने उपबिजेताले तीन लाख पचास हजार पाउनेछ ।
यसअघि शीर्षकमा झापा ११ भनेर अन्यथा भएकोमा सच्याइएको छ ।














Discussion about this post