धरान : धरानमा नाटक ‘बन्द बाक्सा‘ मञ्चन हुने भएको छ । चैत २७ गतेदेखि धरान १० स्थित सैनिक भवनमा वैशाख ३ गतेसम्म मञ्चन हुनेगरी अहिले ‘रिहर्सल’ गरिराखिएको छ ।
रंगभूमी एकेडेमीले मञ्चन गर्ने नाटक मिलन चाम्लिङको लेखन तथा निर्देशन रहेको छ । परिस्थितिले बाध्यतामा परेर वैदेशिक रोजगारीमा गएका नेपाली तथा उनीहरूको परिवार र समाजले व्यहोर्दै आएको कथालाई समेटेर नाटक तयार गरिएको चाम्लिङले बताए ।
पछिल्लो समय कोरोना संक्रमणका कारण पनि नाटक क्षेत्र दर्बिलो बन्न नसकिरहेका बेला धरानमा आफूहरूले नाटकलाई निरन्तरता दिनका लागि बन्द बाक्सा नाटकको तयारी तीव्र बनाइएको उनले बताए ।
यसअघि धरानमा लीलबहादुर क्षत्रीको उपन्यास ‘बसाईँ’लाई नाटकमा रूपान्तरण गरी मञ्चन गरिएको थियो ।
‘राजनीतिक व्यवस्था परिवर्तन भएपनि जनताका भोगाई र दुःख परिवर्तन भएको छैन,’ चाम्लिङले भने, ‘हामीलाई राज्यले भोट बैँकको रूपमा मात्रै प्रयोग गरिरहेको छ, यो नाटक चैँ राज्यव्यवस्थाप्रतिको गुनासो हो ।’
देशमै रोजगारीको सृजना गरिनुपर्छ भन्ने उदेश्यले सन्देश दिनका लागि सो नाटक तयार गरिएको उनले बताए । उनका अनुसार दैनिक ४ः३० बजेदेखि एक घण्टा २० मिनेटको सो रहेको छ भने टिकटको शुल्क तीन सय र दुई सय रहेको छ ।
नाटकको कलाकारहरूमा हरि इवाहाङ लिम्बू, सम्झना राई, रमिता राई, बिशाल नाल्बो, उदीप इवाहाङ, एसिका राई, दीपेन्द्र राई, बलबहादुर राई, सपना तामाङ, प्रियङ्का राई र इन्द्र राईको अभिनय रहेको छ ।
यस्तै, नाटक ब्यवस्थापनमा तुलसा थापा, सन्देश दाहाल र अस्मिन सुवेदी रहेका छन् ।













Discussion about this post