उदयपुर : उदयपुरको बेलका नगरपालिकामा ३ स्थित कोसी जनता माध्यमिक विद्यालयकी १६ वर्षीया छात्रा कविता सुनुवारको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ ।
सुनुवारको मंगलबार स्कुल जाने क्रममा हत्या भएको थियो । घटनापछि प्रहरीले छानबिनको क्रममा मृतककै साथीसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।
यस क्रममा कविताका साथी र साथीका दाजु मिलेर हत्या गरेको खुलासा भएको प्रहरीले जनाएको छ ।
बुधबार प्रहरीले कविताको हत्याका आरोपितलाई सार्वजनिक गरेको छ । हत्यामा संलग्न रहेको आरोपमा बेलका नगरपालिका ३ का १९ वर्षीय विनोद ढकाल र उनको काकाकी छोरी १७ वर्षीयालाई सार्वजनिक गरेको हो ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका निरीक्षक कमाण्डको टोलीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । हत्यापछि उनी अध्ययनरत बिद्यालय रामपुरका बिद्यार्थीहरु आन्दोलित समेत भएका थिए ।
एक वर्षदेखि बहिनीकै घरमा बस्दै आएका विनोदको घर भने भारतको सिक्किम राज्य वियुङ रहेको प्रहरी उपरीक्षक सुवाचन्द्र बोहोराले जानकारी दिए । पक्राउ परेकी १७ वर्षीया किशोरी नाबालिक रहेकोले दाजु विनोदलाई मात्र प्रहरीले सार्वजनिक गरेको हो ।
प्रहरी उपरीक्षक बोहोराका अनुसार मृतक कविताले १७ वर्षीया नाबालिकलाई सानो कुरामा होच्याउने, चिड्याउने गरी आघात पुर्याउने गरेको र त्यसैको प्रतिशोधमा आरोपित बालिकाले दाजुको सहयोगमा कविताको हत्या गरेको स्वीकार गरेका छन् ।
पक्राउ परेका दुवैलाई कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
यो पनि – घरबाट ट्युसन हिँडेकी किशोरीको हत्यामा संलग्न आरोपमा दुई पक्राउ













Discussion about this post