विराटनगर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस आफूले धोका खाएपनि अरुलाई धोका नदिने गरेको बताएका छन् ।
नेपाली कांग्रेस मोरङले बुधबार (आज) विराटनगरमा आयोजना गरेको चुनावी सभामा बोल्दै देउवाले यसपटक कांग्रेसका युवा नेता नागेश कोइरालालाई विराटनगर महानगरपालिकाको मेयरको टिकट दिलाएर न्याय गरेको पनि बताए ।
“यसअघि पनि पनि नागेश मेयरको आकांक्षी थिए, त्यसपछि प्रदेश सांसदको पनि टिकट दिन सकिँन,” देउवाले भने, “तर, यसपटक टिकट दिएर मैले नागेशमाथि न्याय गरेको छु । नागेशसहित गठबन्धनका उम्मेदवारले अत्यधिक मतले जित्नेछन् ।”
देउवाले गठबन्धनमा इमान्दार भएर मतदान गर्न आग्रह गर्दै कांग्रेसले प्रतिबद्धता जनाएपछि कसैलाई पनि धोका नदिने गरेको जिकिर गरे ।
देउवाले नागेश र गठबन्धनबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादव दुवै जना युवा भएकाले विराटनगरवासीले चाहेअनुसार नै विकास हुने बताए । देउवाले भने, “दुवैजना युवा हुनुहुन्छ, दुवैजना पढेलेखेका र विराटनगरका लागि केही गरौं भन्ने सोच छ उहाँहरूमा । त्यसो भएकाले उहाँहरूलाई भोट माग्न म तपाईंहरूको माझ आएको हुँ ।”
नेकपा एमालेको दम्भ र घमण्डलाई परास्त गर्न कांग्रेसहितका गठबन्धनका उम्मेदवारले जित्नुपर्नेमा उनको जोड थियो ।
सभामा वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे । त्यस्तै, नेता डा. शेखर कोइरालाले आगामी प्रदेश र संघको चुनावलाई ध्यानमा राखेर स्थानीय तहमा कांग्रेसलाई जिताउनुपर्नेमा जोड दिए ।
“स्थानीय तहमा कांग्रेसले जितेन भने आगामी प्रदेश र संघको चुनाव जित्न निकै गाह्रो हुन्छ,” कोइरालाले भने, “त्यसो हुनाले विराटनगर मात्रै नभएर देशभर कांग्रेसलाई जिताउने अभियानमा लाग्न म सबैलाई आग्रह गर्दछु ।”
त्यस्तै सभामा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रमा नेकपा एमालेले अग्ला भवन र भ्यूटावरलाई प्राथमिकतामा राखेको तर कांग्रेसले मान्छेलाई प्राथमिकता दिएको बताए ।
“एमाले र कांगेसको घोषणापत्र पढ्नुस्, समृद्धिको कुन बाटो रोज्ने तपाईं रोज्न सक्नुहुन्छ” उनले भने, “एमालेको घोषणापत्रमा एउटा पनि मान्छेको अनुहार राखिएको छैन, कांग्रेसको घोषणापत्रमा तपाईंले आफूलाई देख्नुहुन्छ ।”














Discussion about this post