धरान : धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हराउन लागि परेको भन्दै नेताहरूलाई कारबाहीको प्रक्रिया अगाडि बढाइने भएको छ ।
धरान १२ नम्बर वडा समितिको बैठकले पार्टीका उम्मेदवार हराउन लागि परेको भन्दै तीनजना नेतालाई कारबाहीको सिफारिस गरेको हो ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा धरान १२ मा वडाध्यक्षका उम्मेदवार बिष्णु तामाङ पराजित भएका थिए । उनको पराजयमा कांग्रेस सुनसरी क्षेत्र नम्बर १ (क) प्रदेश क्षेत्रीय उपसभापति प्रदीप शाक्यले भूमिका खेलेको बैंठकको निष्कर्ष छ ।
शाक्य सहित प्रदेश क्षेत्रीय सदस्य एकराज राई र महाधिवेशन प्रतिनिधि निर्मला शाक्यले समेत उम्मेदवार हराउन लागि परेको बताइएको छ ।
वडाध्यक्षका प्रत्याशी विष्णु तामाङ र वडा सभापति सरोज भट्टराईले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै कारबाही र बहिष्कारबारे जानकारी गराएका छन् ।
पार्टीका उम्मेदवारलाई हराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै तीनैजना नेताहरूलाई पार्टीबाट आजीवन बहिष्कार गरिने विज्ञप्तीमा उल्लेख छ ।
यस्तै, अनुशासनको कारबाही स्वरुप साधारण सदस्यसमेत नरहने गरी निलम्बनको माग सहित केन्द्रीय समितिमा सिफारिस गरिएको छ ।
१२ नम्बर वडा नेपाली कांग्रेसका नेता तथा मेयरका प्रत्याशी उम्मेदवार किशोर राईको वडा हो । पार्टीबाटै अन्तरघात भएर चुनावमा पराजित हुनुपरेको राईले बताए । खुलेरै अन्तरघात गरेपछि कारबाहीगर्न बाध्य भएको उनले प्रष्ट्याए ।
धरानको वडा नं. ६ मा यसअघि कांग्रेस उम्मेदवार पराजित भएको भन्दै २९ जनालाई कारबाहीको सिफारिस गरेको छ ।














Discussion about this post