इटहरी : खोटाङको बराहपोखरी गाउँपालिका ५ स्थित दूधकोशी नदीस्थित बगरको खल्डोमा शंकास्पद अवस्थामा फेला परेको महिलाको शवको पहिचान भएसँगै कर्तब्य गरी हत्या गर्ने नातिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका ३ का २९ वर्षीय हरी भन्ने निरबहादुर खड्का रहेका छन ।
बैशाख ३१ गते दूधकोशी नदी किनारमा शंकास्पद अवस्थामा फेला परेको बेवारिसे महिलाको शवको पहिचान तथा अनुसन्धानको क्रममा खोटाङको जन्तेढुंगा गाउँपालिका ५ चिसापानी घर भइ हाल इटहरी उपमहानगरपालिका १६ बालग्राममा डेरा गरी बस्ने ७७ वर्षीया तुलसा खड्का रहेको भन्ने खुल्न आएसँगै हत्यामा संलग्न रहेका नाति निरबहादुरलाई प्रहरीले पक्राउ गरेको हो ।
हजुरआमाको हत्या गरी फरार रहेका खड्कालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा झापाको मेचीनगर नगरपालिका ६ काँकरभिट्टास्थित नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।
पक्राउ परेका खड्काले हजुरआमालाई स्थानीय तहको निर्वाचनमा भोट हाल्न भनेर बैशाख २६ गते इटहरी बालग्रामबाट चिसापानी खोटाङ लगेको र बराहपोखरी ५ स्थित दूधकोशी नदीको बगरमा हत्या गरी खाल्डोमा पुरेर फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
पक्राउ परेका खड्कामाथि कर्तब्य ज्यान सम्बन्धि कसुरमा जिल्ला अदालत खोटाङबाट म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ ।













Discussion about this post