विराटनगर : विराटनगर महानगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट युरेनियम जस्तो देखिने पदार्थसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार झण्डै २ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थसहित १५ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो ।
युरेनियम जस्तो पदार्थ लिएर विराटनगरको ठूल्दाई होटलमा केही व्यक्तिहरू रहेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको एसपी राईले बताए ।
मोरङको धनपालथान गाउँपालिका ७ का ४१ वर्षीय शिवशंकर पासवान, धनपालथान गाउँपालिका ४ का ३७ वर्षीय मुकेशकुमार साह, धनपालथान गाउँपालिका ७ का ४३ वर्षीय प्रदीप पुरी, कटहरी गाउँपालिका २ का ४० वर्षीय दिलीपकुमार शर्मा, विराटनगर १२ का ४६ वर्षीय फटिककुमार कार्की, माप्य दूधकोशी गाउँपालिका ७ सोलुखुम्बुका ३५ वर्षीय गोपाल मगर, हलेसी नगरपालिका ९ खोटाङका ३२ वर्षीय किरन राई र धनपालथान गाउँपालिका ७ का ४४ वर्षीय लक्ष्मण शर्मालाई १ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो ।
यस्तै, विराटनगरकै दूधफारममा समेत केही व्यक्तिहरू रहेको भन्ने सूचनाका आधारमा ९७८.६ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थसहित ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गण्डकी गाउँपालिका ८ गोरखाका ४५ वर्षीय जीवन गुरुङ, मङ्हा नगरपालिका ६ महोत्तरीका, ४२ वर्षीय अब्दुल गनी खान, बर्दिवास नगरपालिका १२ महोत्तरीका ३० वर्षीय चन्दन कुमार महतो, ग्रामथान गाउँपालिका ३ मोरङका ५५ वर्षीय रबीन्द्र गच्छदार, बागमती गाउँपालिका ५ मकवानपुरका ३६ वर्षीय दीपककुमार भ्लोन, मनराशिषवा नगरपालिका ३ महोत्तरीका ४९ वर्षीय उमेशप्रसाद यादव र कमलामाई नरगपालिका ५ सिन्धुलीका २८ वर्षीय श्याम घिमिरे रहेका छन् ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी राईले जानकारी दिए ।
Discussion about this post