बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतरास्थितमा सोही स्थानका लक्ष्मण बिकको औलिया ज्वेलर्समा सुनचाँदी चोरी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका २६ वर्षीय अनिल बराइली रहेका छन् ।
ज्वेलर्समा घर पछाडि काठको ढोकाको कब्जा फुटाई लकरबाहिर राखिएको सुनचाँदी चोरी भएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय चतरा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटिएको थियो ।
घटनाको सुक्ष्म अनुसन्धान थालेको प्रहरीले चोरी भएको २४ घण्टा नबित्दै चोरीमा संलग्नलाई पक्राउ गरेको हो ।
अनुसन्धान गर्ने क्रममा शंकास्पद रहेका बराईलीको घरकोठाभित्र खानतलासी गर्दा दराज पछाडि कालो झोलामा लुकाईछिपाई राखिएको चोरीको सुनका गरगहनाहरू ६ तोला ८३ लाल र चाँदीको गरगहनाहरू २९७ तोलाको अन्दाजी १० लाख ४० हजार ५९० बराबरको गरगहना बरामद भएको हो ।
चोरिएका सुनको गरगहनाहरू बरामद भएसगै बराईलीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post