इटहरी : इटहरी उपमहानगरपालिका–५ की ८ वर्षीया बालिका आस्वाना चौहानको सर्पदंशबाट मृत्यु भएको छ ।
घरभित्र खेलिरहेका बेला बुधबार साँझ गोमन सर्पले बायाँ हातमा टोकेपछि उपचारका लागि विभिन्न अस्पताल पुर्याइएकी चौहानको उपचारकै क्रममा मृत्यु भएको हो ।
परिवारका अनुसार सर्पले टोकेको कुरा बालिकाले तत्काल अभिभावकलाई बताएकी थिइनन् ।
स्वास्थ्य अवस्था बिग्रिएपछि मात्रै परिवारले घटनाबारे थाहा पाएको थियो । सर्पले टोकेको हातबाट रगतसमेत बगिरहेपछि परिवारले उनलाई इटहरीस्थित नेपाली सेनाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रमा लगेका थिए ।
करिब ६ बजे उपचार केन्द्र पुर्याइए पनि १३ वर्षमुनिका बालबालिकाको उपचार गर्ने व्यवस्था नरहेको जानकारी गराइएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको परिवारले जनाएको छ ।
सर्पदंश केन्द्र लैजाँदै गर्दा बालिकालाई बान्ता भएको र अवस्था थप गम्भीर बन्दै गएको परिवारको भनाइ छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सुरु गरिए पनि आवश्यक पीआईसीयू (बाल सघन उपचार कक्ष) उपलब्ध हुन सकेन । प्रतिष्ठानमा चारवटा पीआईसीयू रहे पनि त्यतिबेला कुनै बेड खाली नभएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शम्शेर श्रेष्ठका अनुसार बालिकाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि पीआईसीयू उपलब्ध भएको अस्पतालमा लैजान भनिएको थियो ।
‘प्रतिष्ठानमा चारवटा पीआईसीयू छन् । खाली भएको भए बालिकालाई तत्काल उपचार सुरु गर्ने थियौँ । प्रतिष्ठान ल्याउँदा नै अवस्था गम्भीर बनिसकेको थियो । तर, पीआईसीयू उपलब्ध गराउन सकेनौँ,’ उनले भने ।
त्यसपछि परिवारले बालिकालाई मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्याएको थियो । साँझ करिब ७ः५० बजेतिर अस्पताल पुर्याइएकी चौहानलाई चिकित्सकले करिब ८ः१७ बजे मृत घोषणा गरेका थिए ।
बालिकाका काका मनीराज चौहानले उपचारका लागि तत्काल अस्पताल पुर्याए पनि एकपछि अर्को अस्पतालमा लैजानुपर्दा समय बितेको बताए ।
‘हामीले तत्काल अस्पताल पुर्यायौँ । छोरी सुरुमा बोल्दै थिइन् । अस्पताल पुर्याउन लाग्दा बान्ता भयो । अवस्था गम्भीर बन्दै गयो । सर्पदंश केन्द्रमा उपचार हुन सकेन । त्यसपछि धरान लगियो । त्यहाँ उपचार त सुरु भयो तर पीआईसीयू खाली नभएको जानकारी गराइयो,’ उनले भने, ‘हामीले हतारहतार विराट टिचिङ ल्यायौँ । तर छोरीलाई बचाउन सकिएन ।’
सर्पदंशपछि इटहरीबाट धरान हुँदै बूढीगंगासम्म पुर्याउँदा पनि आवश्यक उपचार तथा सघन उपचार सेवा तत्काल उपलब्ध हुन नसकेको घटनाले बालबालिकाका लागि सर्पदंश उपचार र पीआईसीयू सेवाको पहुँचमाथि प्रश्न उठाएको छ ।












Discussion about this post