इटहरी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ ।
बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको छ। अब एक लिटर डिजेल र मट्टीतेलको मूल्य १८१ रुपैयाँ पर्नेछ ।
निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । मूल्य समायोजनपछि पनि १५ दनमा करिब ३० करोड ५२ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।
पेट्रोलियम पदार्थको मूल्य घट्दा मौन रहेको नेपाल आयल निगमले भाउ बढेलगत्तै नयाँ मूल्य सार्वजनिक गरेको हो । भारतीय आयल कर्पोरेसन (आईओसी) ले जुलाई १६, अगस्ट १ र अगस्ट १६ मा प्रतिलिटर पेट्रोलमा ३४ रुपैयाँ ५ पैसा र डिजेलमा ३३ रुपैयाँ ८५ पैसा घटाएर पठाएको थियो ।
त्यस बेला खुद्रा बिक्री मूल्य यथावत् राखेको निगमले भाउ बढेर आएलगत्तै बिहीबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य ६–६ रुपैयाँ बढाएको हो ।
‘भदौ १६ गते प्राप्त मूल्यअनुसार पेट्रोलमा १ रुपैयाँ १९ पैसा, डिजेलमा ६ रुपैयाँ १२ पैसा, हवाई इन्धनमा ८ रुपैयाँ १ पैसा बढेर आएको छ । मट्टीतेल र ग्यासको मूल्यमा केही घटेर आए पनि ग्यासमा अझै प्रतिसिलिन्डर ३ सय ७८ रुपैयाँ ७ पैसा घाटा छ,’ निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रतिलिटर डिजेलमा ११ रुपैयाँ १८ पैसा घाटा र पेट्रोलमा २ रुपैयाँ ८२ पैसा नाफा छ । समग्रमा निगमलाई १५ दिनमा ४८ करोड २४ लाख घाटा हुने स्थिति छ ।’
मूल्य बढ्दा बढाउने तर घट्दा नघटाउने नीतिले आम उपभोक्ताहरू मारमा परेको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् ।












Discussion about this post