इटहरी : नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश नम्बर १ को पुरुष फुटबल छनौट खेलमा मोरङ, धनकुटा, संखुवासभा र भोजपुरले जितेको छ ।
बुधबार विराटनगरमा रहेको शहिद रंगशालामा बिहान भएको पहिलो खेलमा खोटाङलाई १–० गोलले पराजित गर्दै मोरङ क्वाटरफाइनलमा प्रवेश रहेको छ ।
दुवै टिमबाट ए डिभिजन खेलेका अनुभवी खेलाडीका साथ मैदान उत्रिएको थियो । खेलमा मोरङको लागि खेलको नवौं मिनेटमा टिम क्याप्टेन कोमल खवासको एक मात्र गोलले जित सुनिश्चित भएको थियो ।
बुधबारै भएको दोस्रो खेलमा धनकुटाले पाँचथरलाई ३–२ गोलले पराजित गर्दै क्वाटरफाइनल पुग्न सफल भएको छ ।
दिउँसो ११ बजेको घाममा खेलका यी दुवै टोली भने जस्तो खेल खेल्न सकेन । धनकुटाको लागि खेलको ३४ औं मिनेटमा टिम क्याप्टेन बुद्ध चेम्जोङले पहिलो गोल गरेको थिए भने पाँचथरको लागि ४०ं औ मिनेटमा निर्देश राईले गोल गर्दै पहिलो हाफ आफ्नो टिमलाई बराबरीमा पुर्याएका थिए ।
धनकुटाका लागि मनकुमार राई र बीरेन चेम्जोङले क्रमश एक–एक गोल गरेका थिए । यस्तै, पाँचथरको लागि खेलको ८०ं औं मिनेटमा निर्देश राईले व्यक्तिगत दुई गोल गरेपनि पाँचथरको लागि जित दिलाउन सकेनन् । धनकुटा पहिलो खेल जित्दै क्वाटरफाइनलमा सुनसरीसँग खेल्नेछ ।
यस्तै, तेस्रो खेलमा संखुवासभाले तेह्रथुमलाई २–० गोलले जित्दै ओखलढुंगासँगको भेट पक्का गरेको हो । दिउँसो २ बजे भएको खेलको ३५ औं मिनेटमा संखुवासभाको लागि जीवन राई गोल गर्दै पहिलो हाफमा १–० अग्रता दिलाउन सफल भए ।
खेलमा पाएको पेनाल्टीमा तेह्रथुम गोल गर्नबाट चुकेको थियो । संखुवासभालाई ७४ औं मिनेटमा जीवन मगरले थप १ गोल गर्दै संखुवासभाको जित पक्का गरेको हो ।
यस्तै आजको अन्तिम खेलमा भोजपुरले उदयपुर माथी ४–२ को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
दोस्रो हाफमा भोजपुरका क्याप्टेन विजय भुजेलले खेलको ५३ र ५९ औं मिनेटमा गोल गरे भने उदयपुरको लागि ६२ औं मिनेटमा आशिष थारुले गोल गर्दै खेलमा अन्तर घटाएपनि भोजपुरका लागि थप गोल ६५ र ७० औं मिनेटमा राम बहादुर तामाङले गोल गर्दै भोजपुरको जित सुनिश्चित गरेका थिए ।
यस्तै, खेलको अन्तिम समय ८३ औं मिनेटमा दिवश श्रेष्ठले गोल गरे पनि जितको लागि प्रयाप्त भएन । अब भोजपुरले इलामसँग खेल्ने छ।














Discussion about this post