ताप्लेजुङ : ताप्लेजुङको फुङलिङ नगरपालिका ५ वीरेन्द्र चोकमा रहेको अम्बर श्रेष्ठले सञ्चालन गरेको कञ्चन मनि ट्रान्सफरमा डकैती गर्ने समूहका चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मुख्य योजनाकार फुङलिङ नगरपालिका २ का २९ वर्षीय राजन पर्तेल, शिवसताक्षी नगरपालिका १ झापाका २६ वर्षीय चुनबहादुर सुनार, अर्जुनधारा १० झापाका २५ वर्षीय मणिराज पर्तेल र सिदिङवा गाउँपालिका ५ ताप्लेजुङ घर भई फिदिम १ पाँचथर बस्दै आएका २७ वर्षीय टाईगर भन्ने गजेन्द्र लिम्बू रहेका छन् ।
गत असोज १७ गते बिहान कञ्चन मनि ट्रान्सफरमा चारजनाको समूह पेस्तोलसहित प्रवेश गरी मनि ट्रान्सफरका कर्मचारी ३३ वर्षीया आशामाया प्रधानलाई कुटपिट गरी सेफमा राखेको करीब ३४८ तोला सुनका विभिन्न गरगहनाहरू र नगद ११ लाख ६३ हजार २ सय ५० रुपैयाँ समेत लुटेर भागेको घटना सम्बन्धमा तत्काल प्रहरी परिचालन गरी खोजतलासको क्रममा संलग्न तीनजनालाई सुनको विभिन्न गरगहना १४३ तोला र नगद ६ लाख १३ हजार ३ सय ४० रुपैयाँ र १ थान पेस्तोल सहित पक्राउ गरिएको हो ।
यस्तै, गजेन्द्र लिम्बूलाई खोजतलासको क्रममा २४ गते बेलुका पाँचथरको फालेलुङ ८ स्थितमा लुकिछिपि बसेको स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारैजनामाथि ताप्लेजुङ जिल्ला अदालतबाट डाका मुद्धामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।














Discussion about this post