इटहरी : इटहरीमा किरात राई यायोख्या केन्द्रीय कार्यसमितिले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।
शनिबार अभिमुखीकरण कार्यक्रममा यायोख्याले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पहिचान विरोधी उम्मेदवारलाई ‘नो भोट’ अभियान चलाउने चेतावनी दिएको छ ।
यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईका अनुसार प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमपछि जारी गरेको विज्ञप्तिमा पहिचानको नारालाई बेवास्ता गरे उम्मेदवारलाई ‘नो भोट’ अभियान चलाउने चेतावनी दिइएको हो ।
विज्ञप्तिमा राजनीतिक दलका उम्मेदवारहरुले प्रदेश नं. १ लाई किरात प्रदेश नामाकरण गर्न गम्भीर हुन पनि ध्यानाकर्षण गरिएको छ ।
‘प्रदेश नं. १ को नाम किरात राखिनुपर्ने स्पष्ट लेख्न र राजनीतिक पार्टी एवम् उम्मेदवारहरुलाई गम्भीर हुन आग्रह गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ । मंसिर ४ गते हुने निर्वाचनका उम्मेदवारहरूलाई पहिचानको सम्बोधनका लागि दबाब दिन लागिएको राईले बताए ।
‘किरात राईहरूको छुट्टै संस्कृति रहेपनि हाम्रो संस्कृति सिंगो राष्ट्रको श्रीवृद्दिको लागि योगदान रहेकाले गर्दा प्रदेश नं. १ को नामाकरण किरात हुनुपर्नेमा सबै राजनीतिक दलका उम्मेदवाहरू लाग्नुपर्छ,’ उनले भने ।
अभिमुखीकरण कार्यक्रममा प्रदेश नं. १ का किरात राई यायोक्खाका जिल्ला कमिटीका अगुवालाई यायोक्खाको ११ औं राष्ट्रिय महाधिवेशनले पारित गरेको २१ बुँदे निर्णयबारे जानकारी गराएको थियो ।














Discussion about this post