भोजपुर : पर्यटकीय चहलपहलमा कमी हुँदा भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको मुन्धुम पदमार्ग पर्यटकको पर्खाइमा छ ।
चखेवा डाँडा, टेम्के डाँडा, टेम्के मन्दिर, हाँस पोखरी र साल्पासिलिचुङ यस मुन्धुम पदमार्गका मुख्य पर्यटकीय गन्तव्य हुन् ।
भोजपुर र खोटाङको सिमानामा अवस्थित टेम्के डाँडा पछिल्लो समय पर्यटकको चहलपहलमा कमी हुँदा ओझेलजस्तै परेको छ । टेम्के डाँडाको पदयात्रामा मैयुङ डाँडा, सिलिचुङ डाँडा हुँदै साल्पा पोखरीमा टुङ्गिन्छ ।
खासगरी खोटाङ, भोजपुर, सोलुखुम्बु र संखुवासभाका मानिसहरू आन्तरिक पर्यटकको रूपमा जाने गरेका छन् ।
२०७५ कात्तिकमा नेपाल सरकारले घोषणा गरेको नेपालका घुम्नैपर्ने एक सय वटा पर्यटकीय गन्तव्यको सूचीमा यो पदमार्गलाई पनि समावेश गरेसँगै यहाँ पर्यटकको चहलपहल बढेको थियो । पदमार्गलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने पहल समेत भइरहेको छ ।
तर, अपेक्षा गरेअनुरुप पर्यटकको संख्या नहुँदा पर्यटकको पर्खाइमा रहेको बताइन्छ ।
पदमार्गबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्से लगायतका आठ हजार मिटर अग्ला छ वटा हिमाल देख्न सकिन्छ ।
समुद्री सतहबाट २ हजार ३०० मिटरमा रहेको चखेवादेखि ४ हजार ११० मिटरको सिलिचुङ डाँडा प्राकृतिक सौन्दर्य, मौलिक जीवनशैली, मिथक, आस्था र किराती संस्कृतिको संगम हो ।
मुन्धुम ‘ट्रेकिङ’ जाँदा भोजपुर र खोटाङको सीमा क्षेत्रमा ठूला–ठूला डाँडाकाडाको दृश्य, चेरीडाँडा, मलुवा पोखरी, दलसिंगे भन्ञ्याङ ,धोद्रे देउराली, तीन थुम्की, जलजले हुँदै यहाँका मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ । गाई, गोरु, चौरी र भेडा चरनमा आउँदा यहाँ देखिने दृश्य मनमोहक हुन्छ । चौंरीगोठ र भेडीगोठ यस भेगका खास विशेषता हुन् ।
मुन्धुम पदमार्ग क्षेत्रका विभिन्न स्थानमा विविध तिथि र दिनहरूमा धार्मिक–सांस्कृतिक तथा विशुद्ध मनोरञ्जनात्मक मेला लाग्छन् ।
पदमार्गमा पर्ने खर्कमा मौसमी गोठहरू छन् । ती फागुनदेखि गाउँदेखि मास्तिर सर्दै जान्छन् र असोजसम्ममा गाउँ झरिसक्छन् । चैतदेखि भदौसम्म खर्कहरू पशुले भरिभराउ हुन्छन् । पदमार्ग क्षेत्रमा चौंरी, भेडा, बाख्रा र गाईभैंसीका सयभन्दा धेरै गोठ छन् ।
त्यस्तै, भोजपुरको उत्तर पश्चिम र खोटाङको उत्तर पूर्वी सिमाना दुई जिल्ला बीचको टेम्केमैयुङ गाउँपालिकाको संगमस्थल स्थलमा रहेको अर्को मैयुङ डाँडा । यो भोजपुरको तत्कालीन दोभाने, खार्ताम्छा, किमालुङ र तिम्मा गाविस र खोटाङको तत्कालीन फेदी गाविसको बीचमा पदर्छ ।
मनमोहक पर्यटकीय स्थल मैयुङ डाँडाको माथिल्लो भागमा सत्ययुगमा रानीले तान बुन्न प्रयोग गरेको ठूला र चेप्टा चट्टानसमेत अवलोकन गर्न सकिन्छ । ३ हजार ३ सय ५० मिटर अग्लो मैयुङ डाँडा हिमालको काखैमा रहेको मैयुङ डाँडा गोरुको काँध जस्तै गरी मैयुङ चुचुरो माथितिर उठेको छ ।
मुन्धुम पदमार्ग नयाँ पर्यटकीय गन्तव्य घोषणा भएसँगै यस पर्यटकीय स्थलमा राज्यको लगानी समेत बढेको छ । स्थानीय सरकारले पनि यस क्षेत्रको पदयात्रा गर्नका लागि विकास गरेको छ । यो क्षेत्रलाई सरकारले पर्यटन वर्ष २०२० को एक गन्तव्यको रूपमा समेत समावेश गरेको थियो ।

सबै तस्वीरहरू : मनोज आचार्य ।














Discussion about this post