इटहरी : इटहरीका मेयर हेमकर्ण पौडेल व्यापारीहरूसँग हात जोड्दै सडकमा निस्किएका छन् ।
शनिबार (आज) इटहरीस्थित विराटनगर लाइनमा पसल थापेर बसेका व्यापारीहरूलाई मेयर पौडेल आफैंले भेटेर सम्झाउने प्रयास गरेका हुन् ।
व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत ६ लेन सडक आयोजनामा केही घरधनीका कारण प्रभावित भएको भन्दै मेयर पौडेलले पसल गरेर बसेका व्यापारीहरू अन्तै सटर खोजेर बस्न अपिल गरेका हुन् ।
पौडेलको नेतृत्वमा ६ लेन सडक आयोजना प्रमुख र हाईवे सडकसँग जोडिएका घरधनीहरूसँगको छलफलमा धरधनीहरू सहमतिमा नआएपछि बल प्रयोग गरेर उपमहानगरले ‘राईट अफ द वे क्लियर’ गर्ने भएको छ ।
‘हामी सडक विस्तार अभियानमा छौ इटहरीमा केही घरधुरीको कारण यो सडक नबन्ने भयो,’ मेयर पौडेलले व्यापारीहरूसँग भने, ‘६ लेन सडक आयोजनाले पनि काम नगर्ला जस्तो भयो पसलहरू खाली गरिदिनु पर्यो हजुर !’
मेयर पौडेलले एक दर्जन भन्दा बढी व्यापारीहरूलाई भेटेर अपिल गरेका हुन् ।
इटहरी उपमहानगरपालिकाले सडक क्षेत्राधिकारभित्र पर्ने १४ वटा घर डोजर प्रयोग गरी भत्काइसकेको छ । इटहरी वडा नं ९ स्थित विराटनगर लाइनमा रहेका घरमा डोजर प्रयोग गरेर भत्काइएको हो ।
सोही लाइनमा रहेको इटहरीकै पुरानो क्लबले पनि आफ्नो भवन भत्काएको छ । त्यस्तै, स्थानीय राजकुमार भुजेलले पनि आफु सडक विस्तारको बाधक नभएको भन्दै आफ्नो घर आफैँले भत्काएका छन् । तर, केही घरधनीहरूले भने मुआब्जा नपाएसम्म घर भत्काउन नदिने भन्दै आएका छन् ।
घर भत्काउन अटेर गरेकै कारण इटहरीको मुख्य बजार क्षेत्रको चौरास्त चोकभन्दा दक्षिणतर्फ विराटनगर लाइनको बसपार्कसम्म झन्डै तीन सय मिटर सडक विस्तार हुन सकेको छैन । वडा नं ६ भित्र पर्ने केही घरहरू भत्काउन अन्तिम अल्टिमेटम दिएको र अटेर गरे ती घरहरू पनि डोजर लगाएर भत्काउने मेयर पौडेलले बताए ।
इटहरीको मुख्य चौकदेखि उत्तर तरहरातर्फ ६ लेन सडकको काम सकिएपनि दक्षिणी क्षेत्र विराटनगर लाइनमा भने काम बाँकी नै रहेको छ ।
६ लेन सडक विस्तार आयोजनाका अनुसार इटहरी बजारदेखि उत्तरतर्फ सेनाको मुख्यालयसम्म २०–२० मिटर सडक विस्तार गर्न घर भत्काउनु पर्दैन । फुटपाथ बनाउन भने घर पनि भत्काउनुपर्छ । तर, अहिले त्यो काम अघि बढेको छैन ।
इटहरी बजारको चौरास्त चोकभन्दा दक्षिणतर्फ भने अहिले २० मिटर सडक छ । यसमा सरोकारवालासँग भएको सहमति अनुसार दुवैतर्फ १५–१५ मिटर विस्तार गर्ने निर्णय भएपनि घर नभत्काउँदा सडक विस्तार हुन सकेको छैन ।
२०६९।०७० बाट सुरु भएर सात वर्षभित्रमा ६ लेन सडक बिस्तार गर्ने लक्ष्य राखिएको थियो । पछिल्लो समय थप गरिएको हो । पुरै सडक निर्माण गर्दा सुरुवातमा १० अर्ब ९८ करोड लागत अनुमान गरिएको थियो ।
लामो समयदेखि अस्तव्यस्त इटहरीको मुख्य सडकपेटीलाई इटहरी सरकारले थप व्यवस्थित बनाउने भएको छ ।
पैदलयात्रुका हिड्नका लागि बनाइएका फुटपाथ व्यापारीहरूले कब्जा गर्ने क्रम बढेसँगै इटहरी उपमहानगरका मेयर पौडेलले सडकपेटी खाली गर्न निर्देशन दिँदै आएका छन् ।














Discussion about this post