विराटनगर : प्रदेश १ को प्रदेशसभा बैठकमा सांसदले शून्य समयमा बोल्न पाएनन् ।
सोमबार प्रदेशसभाको बैठक थियो । तर, सांसदहरूले शून्य समय लिएर बोल्न नपाएका हुन् ।
मंसिर ४ गतेको निर्वाचनपछि गठन भएको प्रदेशसभाको पहिलो बैठक पुस १७ गते बसेको थियो । पहिलो बैठकमा पनि सांसदहरूले शून्य समयमा बोल्न पाएका थिएनन् ।
बैठकमा नेपाली कांग्रेसबाट निर्वाचित तथा पूर्व मन्त्री केदार कार्कीले शून्य समयमा बोल्न नदिनु ‘सेटिङ’ भएको आरोप लगाएका छन् ।
उनले प्रदेशसभामा नयाँ सांसद निर्वाचित भएको ३ महिना पुग्न लाग्दा पनि निर्वाचनको क्रममा जनतासँग गरेको वाचाअनुसार जनसरोकारका विषय संसदमा सांसदहरुले उठाउन नपाएको बताए ।
प्रदेशसभा बैठक चलिरहँदा कार्कीले टेबल ढ्याप–ढ्याप गरेका थिए । त्यतिबेला सभामुख बाबुराम गौतमले मन्त्रिपरिषदको कार्यविभाजन र जिम्मेवारीसम्बन्धी पत्र पढेर सुनाउँदै थिए ।
कार्कीले मागेको ढ्याप–ढ्यापे समयप्रति सभामुख गौतम नै अनभिज्ञ बने ।
मंगलबारको बैठकमा पनि सांसदहरूले शून्य समय पाउने सम्भावना देखिँदैन । मंगलबारको बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यसैबीच ८ मिनेटमा सकिएको बैठकमा यसअघि प्रदेशसभामा प्रस्तुत प्रदेश निजामती सेवा अध्यादेश र केही प्रदेश ऐन संशोधन अध्यादेश प्रदेशसभाले स्वीकृत गरेको छ ।
प्रदेशसभा नियमावली पहिलो संशोधन २०७४ को नियम १३ बमोजिम सभामुखको अध्यक्षतामा कार्य व्यवस्था परामर्श समिति गठन भएको छ। जसमा आन्तरिक मामिला तथा कानुनमन्त्री तथा उपसभामुख पदेन सदस्य रहनेछन् ।
मनोनीत सदस्यहरूमा अम्बरबहादुर विष्ट, नारायणबहादुर मगर, विद्या चाम्लिङ राई, भीम पराजुली, भूपेन्द्र राई, रेवतीरमण भण्डारी, सिर्जना राई र ज्ञानेन्द्र सुवेदी रहेका छन् ।
बैठकले प्रदेशसभा सञ्चालन तथा व्यवस्थापनका लागि नयाँ नियमावली मस्यौदा निर्माण गर्न समिति पनि गठन गरेको छ ।
समितिमा कमलप्रसाद जबेगु, केदार कार्की, गीता तिम्सिना, गोम्बु शेर्पा, तिलचन पाठक, निमसरी राजवंशी, मोहन महर्जन, यशोदा कायस्थ, रामवेद यादव, लिलाबल्लभ अधिकारी र शोभा चेम्जोङ रहेका छन् ।














Discussion about this post