इटहरी : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा निर्वाचित सभापतिसहित पदाधिकारीहरूले विजय जुलुस निकालेका छन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) र समाजवादी विद्यार्थी युनियनको तर्फबाट सभापतिमा सहदेव काफ्ले निर्वाचित भएका थिए ।
काफ्लेसहितको निर्वाचित टिमले बिहीबार (आज) जनता क्याम्पसको प्राङ्गणबाट निकालेको विजय जुलुस इटहरीको गोलो चोकमा पुगेर समापन गरिएको छ ।
नगर परिक्रमा पश्चात कार्यक्रममा बोल्दै स्ववियुका नवनिर्वाचित सहदेव काफ्लेले आँफूले चुनाव जितेपछि विद्यार्थीको पक्षमा काम गर्ने बताए ।
‘हाम्रा घोषणापत्रमा उल्लेख भएअनुसार काम गर्न हामी प्रतिबद्व छौँ,’ काफ्लेले भने, ‘यो कार्यकालभरी म सधैँ विद्यार्थीको समस्या समाधानमा पिलर भएर उभिनेछु ।’
उनले क्याम्पस प्रशासनको सुधारसँगै विद्यार्थीको पाठ्यक्रम सिकाइमा आँफूले महत्वपूर्ण काम गर्ने बताए ।
विजय जुलुसपछि इटहरी चोकमा राखिएको सम्बोधनमा बोल्दै नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा कांग्रेस महाधिवेशन प्रतिनिधि विकास केसीले क्याम्पसभित्र नेविसंघको झण्डा फहरिएकाले अब विद्यार्थीका समस्या सम्बोधन हुने तर्क गरे ।
‘अहिले देशैभर नेविसंघले विजयी हाँसिल गरेको छ, यसले पनि नेविसंघप्रतिको विश्वास देखाउँछ,’ केसीले भने, ‘अब विद्यार्थीले आफ्ना समस्या समाधान भएनन् भनेर भन्नुपर्ने दिन नआउनका लागि स्ववियुका पदाधिकारीलाई सम्झिए पुग्छ ।’
चैत ५ गते भएको स्ववियु निर्वाचनमा जनता बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका इकाई सभापति समेत रहेका सहदेव काफ्ले निर्वाचित भएका थिए ।
यस्तै, सचिवमा समाजवादी विद्यार्थी युनियनका अर्जन राई, कोषाध्यक्षमा अनेरास्ववियुका आदित्य खड्का निर्वाचित भएका थिए ।
यस्तै, सदस्यहरूमा नेविसंघको तर्फबाट सन्तोष पुरी (सुशान्त), सुगम भुजेल, एलिना चौधरी, सुदीप खतिवडा, केशव लुईटेल, मार्शल बस्नेत, लक्ष्मण लिम्बू र अनेरास्ववियुबाट मनिष चौलागाईं विजयी भएका थिए ।











Discussion about this post