विराटनगर : विराटनगर १४ स्थित एस्पायर कलेजमा ब्याचलर इन प्रोफेसनल हस्पिटालिटीमा अध्ययनरत विद्यार्थीहरूले पूर्वान्चल बाल सेवा आश्रमका बालबालिकासँग एक दिने कार्यक्रमको आयोजना गरेका छन् ।
कार्यक्रममा विद्यार्थीहरू आँफैले खाना तयार पारेर आश्रममा दिवा भोजनको आयोजना गरेका हुन् ।
अरबिन्द नायक नेतृत्वको समूहले खाना तयार पारेको थियो भने लिजा खतिवडा नेतृत्वको समूहले मनोरञ्जनका विभिन्न गतिविधिहरू नृत्य, विभिन्न खेलको आयोजना गरेको थियो ।
सो कार्यक्रमको व्यवस्थापनका रूपमा सुलभ निरौलाले आफ्नो भूमिका निर्वाह गरेका थिए । सुगन्ध रेग्मीको गायन र सीता ढकालको नृत्यमा आश्रम परिवार झुमिएको थियो ।
उक्त कार्यक्रममा आफ्ना विचार राख्दै आश्रमकी संरक्षक सीता पोखरेलले मुट्ठी दानबाट सुरु भएको आश्रममा विभिन्न दाताहरूको सहयोगबाट आश्रम तीन दशकदेखि अनवरत रूपमा संचालनमा रहेको बताइन् ।
उनले अहिलेका पुस्तालाई सेवा भावका काममा लाग्नका लागि अभिप्रेरित गर्दै उत्प्रेरणामूलक भनाइ राखिन् ।
काठमाडौं विश्वविद्यालयले विद्यार्थीलाई सिकाइका लागि विभिन्न गतिविधिहरू संचालन गर्दै आएको छ ।
विद्यार्थीहरू आँफैले संकलन गरेको रकमबाट आश्रममा आश्रय लिएका बालबालिकाका लागि भोजन गराइएको क्याम्पसका ब्याचलर इन प्रोफेस्नल हस्पिटालिटीका कोअर्डिनेटर शुभम भट्टराईले जानकारी दिए ।
क्याम्पस प्रमुख सिएम बस्नेतका अनुसार विद्यार्थीले सामाजिक उत्तरदायित्व निभाउँदै प्रत्यक्ष रूपमा आँफै सहभागी भएर यस्ता कार्यक्रमहरू गर्ने गरेको र कार्यक्रमपश्चात् आश्रमका बालबालिकासँग जीवन बाँच्ने कलाका बारेमा सर्वेक्षण गर्दै प्रतिवेदन समेत क्याम्पसमा बुझाउनेछन् ।
विद्यार्थीको चौतर्फी विकास र सामाजिक काममा विद्यार्थीको संलग्नता रहोस् भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको क्याम्पसका अध्यक्ष विकास अधिकारीले बताए ।














Discussion about this post