विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा रोजगारी सिर्जना गर्ने, राजस्व वृद्वि हुने र सौन्दर्यकरण हुने योजनातर्फ ध्यान दिन स्थानीय तहका जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् ।
मंगलबार गाउँपालिका राष्ट्रिय महासंघ नेपालको कोसी प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले पहुँचका आधारमा विकासको बजेटलाई जथाभावी रूपमा सडक, पुल र भवन जस्ता अनुत्पादक क्षेत्रमा खर्च गर्न नहुने बताए ।
अहिलेकै गतिमा सडक, पुल र भवन निर्माणमा बजेट खर्च गर्दै जाने हो भने आगमी तीन वर्षमा मर्मत सम्भारका लागि बजेटको आकारलाई दोब्बर बनाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
पुँजीगत खर्च गर्दा सङ्घीय र प्रदेश सरकार भन्दापनि स्थानीय सरकार बढी जिम्मेवार हुनुपर्ने तर्फ सचेत गराउँदै जनतामा वितृष्ण बढाउने किसिमका योजनामा लगानी नगर्न आग्रह गरे ।
उनले गोरुगाडादेखि गुन्द्रुक बिक्री गर्ने सम्मलाई करको दायरामा ल्याएको विगतको अभ्यास रहेको स्मरण गराउँदै लोकप्रियताका नाममा कर छुट दिने र वृद्वि गर्ने भन्दापनि दायरा बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए ।
कार्कीले भने, ‘गाउँपालिकाहरुलाई एक भन्दापनि दुई वा सो भन्दा बढी पालिका सहभागी हुने सामूहिक योजना निर्माणमा ध्यानदिनुहोस्, त्यस्ता सामूहिक योजनामा प्रदेश सरकारको प्रथामिकता रहनेछ ।’












Discussion about this post