इटहरी : पूर्व–पश्चिम राजमार्ग अन्तगर्त काँकडभिट्टा–लौकही एसियन हाइवेको डिजाइनलाई लिएर इटहरीबासीले विरोध जनाएका छन् ।
इटहरीको मुख्य बजारमा दाँया–बाँया वाल लगाएर सडक निर्माण गर्ने डिजाइनलाई सच्याएर स्काई ब्रिज बनाउनुपर्ने स्थानीयले माग गरेका हुन् ।
आज (सोमबार) इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडडेललाई ध्यानाकर्षण पत्र बुझाँउदै डिजाइनमा सडक निर्माण भए इटहरीको भविष्य मासिने भन्दै तत्काल उक्त डिपिआर सच्याउनुपर्ने माग राखिएको हो ।
नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी, नेपाली काङ्ग्रेसका नेता रोहित प्रसाई, मेधिनिधि सिटौला, नेकपा एमालेका नेता लीलम बस्नेत लगायतले उपमहानगरका मेयर हेमकर्ण पौडेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
एसियाली विकास बैंकको लगानीमा निर्माण हुन लागेको सडकले इटहरीको व्यापारिक आर्थिक तथा भविष्य नै मासिने भन्दै उक्त डिजाइन सच्याएर पिलर लगाएर स्काई ब्रिज बनाउनुपर्ने धारणा राखेका हुन् ।
ध्यानाकर्षण पत्र बुझ्दै उपमहानगर प्रमुख पौडेलले यसबारे स्थानीय सरकारले प्रतिनिधित्व गरेर डिजाइन पुनःनिर्माण गर्न पत्र पठाउने बताए ।
उनले यसबारे आँफू पनि गम्भीर रहेको बताउँदै आयोजनालाई यसअघि पनि डिपिआर परिवर्तन गर्न पत्र पठाएको बताए ।
३६ अर्ब लागतमा झापाको काँकडभिट्टादेखि सुनसरीको लौकही सम्म ९६ किलोमिटर सडक स्तरोन्नति गरी ४ लेन बनाउने योजना सुरु हुन लागेको छ । ३ वर्ष भित्र सम्पन्न हुने आयोजनाको लक्ष्य छ ।














Discussion about this post