धरान : नेकपा एमाले धरान नगर कमिटीको आठौँ अधिवेशनबाट हर्कजंग एभेङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
कमिटीको मंगलबार र बुधबार भएको अधिवेशनबाट एभेङसहित ८५ सदस्यीय कमिटी चयन भएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा पारस काङमाङ र सचिवमा राजेन्द्र राई निर्विरोध चयन भएका छन् । यसैगरी सह–सचिवमा खुल्लातर्फबाट योगेशबाबु काफ्ले र जनजातिबाट दिवस वान्तवा चयन भएका छन् ।
आठौँ अधिवेशन भएपनि राज्य पुर्नसरचनापछिको भने यो पहिलो अधिवेशन हो ।
मंगलबार धरान १५ किरात याक्थुङ चुम्लुङको भवनामा प्रमुख अथिति १.न.प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम अधिवेशनको उद्घाटन गरेका थिए ।
उक्त अवसरमा बोल्दै कोसी प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य गौतमले पार्टी अब एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
उनले मुलूकको हरेक परिवर्तनमा एमालेको ठूलो भूमिका रहने बताउँदै अब आउने नगर कमिटीले पार्टी सुदृढीकरणमा ध्यान दिनुपर्नेमा जोड दिए ।
यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च धरान नगर अध्यक्ष मोहन तिगेला, एकीकृत समाजवादी पार्टी धरान नगर अध्यक्ष रेवतीरवण राई, जसपा धरान नगर अध्यक्ष ताजुब लिम्बूले पहिचानवादी शक्तिलाई पाखा लगाएर प्रदेशको नाम कोसी राखेको बताउदै पहिचानको आधारमा नाम राख्ने कुरामा एमालेले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
यस्तै, नेपाली कांग्रेस धरान उपमहानगर समितिका सभापति श्याम पोख्रेलले विगतको तुलनामा नेकपा एमालेको संगठन सुदृढीकरण कमजोर भएको बताएका थिए ।
सो अवसरमा केन्द्रीय सदस्य तथा संघीय सांसद राजेन्द्र राई, केन्द्रीय सदस्य तुलसी न्यौपाने लगायत पार्टीका विभिन्न कार्यकर्ताहरूले अधिवेशनबाट चयन हुने पदाधिकारीलाई शुभकामना दिएका थिए ।



















Discussion about this post