इटहरी : इटहरीका उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले सडक निर्माण प्रक्रियामा चरम ढिलासुस्ती गरेको भन्दै ठेकेदार कम्पनीको सवारीसाधन नियन्त्रणमा लिएका छन् ।
राष्ट्रिय गौरवको आयोजना रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक अन्तर्गत तरहरादेखि सेउतीसम्म निर्माण गर्ने जिम्मा पाएको हिम्दुङ ठोकर प्यासिफिक जेभीको पानी बोक्ने ट्याङ्कर नियन्त्रणमा लिएका हुन् ।
आज (शुक्रबार) स्थलगत अनुगमन गर्दा निर्माण कार्य नगरेको देखिएपछि सवारीसाधन नियन्त्रणमा लिएको नगर प्रमुख पौडेलले बताए ।
राष्ट्रिय गौरवको आयोजना तथा ठेकेदार कम्पनीको चरम ढिलासुस्तीका कारण सवारीसाधन नियन्त्रणमा लिन बाध्य भएको उनले बताए । यसअघि पटकपटक ठेकेदार कम्पनी तथा आयोजना प्रमुखलाई ढिलासुस्ती नगर्न जानकारी गराउँदा पनि बेवास्ता भएपछि नगर प्रमुख स्थलगत अनुगमनमा गएका थिए ।
अन्य क्षेत्रमा कामले प्रगति गरेपनि त्यहाँको करिब पाँच किलोमिटर सडक नबन्दा इटहरी–धरान छोटो तथा लामो दूरीका सवारीसाधन, बिरामी बोकेका एम्बुलेन्सलाई कठिनाइ भइरहेको छ ।
उक्त क्षेत्रको सडक निर्माण गर्ने जिम्मा पाएको कम्पनी प्रमुख र ६ लेन सडक आयोजना प्रमुख दानबहादुर शाक्यलाई ३ दिनभित्र उपमहानगरसँग छलफल गरेर सडक निर्माणको काम सक्ने गरी लिखित प्रतिबद्धता जनाउन मेयर पौडेलले आग्रह गरेका छन् ।
सेउती तीनकुने ठेक्का पाएको कम्पनीले काम सम्पन्न गर्नै लाग्दा पनि तरहरा–सेउती ठेक्का पाएको प्यासिफिक जेभीले चरम ढिलासुस्ती गर्दै आएको छ ।
६ लेन सडक आयोजनाका इन्जिनियर प्रियंका झा आगामी असार सम्ममा काम सक्नेमा शंका बढेको बताउँछिन् । उनले अहिलेसम्म ४५ प्रतिशत प्रगति गरेको कम्पनीले १०० प्रतिशत पूरा गर्ला भन्न नसकिने उनले बताइन् ।
नियमित काम हुने हो भने ३ महिना भित्र सम्पन्न गर्न सकिने उनको भनाइ छ । ठेकेदार कम्पनीसँग हाम्रो छलफल भइरहेको छ’ उनले भनिन् ‘देखिएको समस्याबारे हामी चाँडै समाधानमा लाग्नेछौं ।’














Discussion about this post