इटहरी : कोशी प्रदेशका विभिन्न क्याम्पसहरूमा विद्यार्थी संगठनका अफिस, झन्डा, ब्यानर तथा पर्चा–पम्प्लेट हटाउन प्रहरीले अभियान थालेको छ। शैक्षिक संस्थालाई राजनीतिक गतिविधिबाट मुक्त बनाउने सरकारको नीतिअनुसार प्रदेश प्रहरी सक्रिय बनेको हो।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको निर्देशनमा बिहीबारदेखि क्याम्पस प्रशासनसँग समन्वय गर्दै विद्यार्थी संगठनसँग सम्बन्धित संरचना र प्रचार सामग्री हटाउने काम सुरु गरिएको प्रहरीले जनाएको छ।
क्याम्पसभित्र सञ्चालनमा रहेका संगठनका अफिसहरू बन्द गराउने, झन्डा–ब्यानर हटाउने र पर्चा–पम्प्लेट सफा गर्ने कार्य भइरहेको छ।
नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गतको कार्य विभागले देशभरका प्रहरी इकाइलाई क्याम्पसभित्र हुने राजनीतिक गतिविधि नियन्त्रण गर्न निर्देशन दिएको थियो। सोही निर्देशन कार्यान्वयन गर्दै कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले मातहतका निकायलाई सक्रिय हुन निर्देशन दिएका हुन्।
सरकारले सार्वजनिक गरेको १०० दिने कार्यसूचीअन्तर्गत विद्यालय र क्याम्पसभित्र दलगत गतिविधि नियन्त्रण गरी शैक्षिक वातावरण अध्ययनमुखी बनाउने लक्ष्य राखिएको छ। यससँगै क्याम्पसहरूमा विद्यार्थी संगठनको उपस्थिति घटाउने कदम अघि बढाइएको स्रोतले जनाएको छ।
यता विभिन्न राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठनहरूले भने उक्त निर्णयको विरोध गरेका छन्। उनीहरूले क्याम्पसभित्र राजनीतिक गतिविधि रोक्नु लोकतान्त्रिक अभ्यासमाथि हस्तक्षेप भएको बताएका छन्।
शिक्षाविद्हरूले भने शैक्षिक संस्थामा शान्त वातावरण आवश्यक भए पनि विद्यार्थीहरूको सहभागिता र लोकतान्त्रिक अभ्यासलाई पूर्ण रूपमा निषेध गर्न नहुने बताएका छन्।















Discussion about this post