विराटनगर : ‘ब्ल्याकमेलिङ’ गरेर किशोरीलाई ६ वर्षदेखि बलात्कार गर्दै आएका एकजना युवा पक्राउ परेका छन् ।
प्रहरीले विराटनगर महानगरपालिका ६ का ३० वर्षीय रिजवान अन्सारीलाई पक्राउ गरेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार अन्सारीले सुनसरीको दुहबी नगरपालिका ४ घर भइ भक्तपुरको सूर्यविनायक बस्दै आएकी २० वर्षीया किशोरीलाई धम्क्याउँदै बलात्कार गर्दै आएको खुलेको छ ।
२०७४ असारदेखि २०७९ फागुन १८ गतेसम्म बारम्बार बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
१४ वर्षको उमेरमा कक्षा ८ मा पढ्दादेखि विभिन्न प्रलोभनमा पारेर डर, त्रास देखाउँदै धम्की दिएर अन्सारीले उनलाई नियन्त्रणमा राखेका थिए ।
विराटनगर र काठमाडौंका विभिन्न स्थानमा पुर्याई बलात्कार गरेको पाइएको दाहालले बताए । अश्लील फोटाहरू खिच्दै सार्वजनिक गरिदिने भनेर धम्याउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
अन्सारीले बलात्कारको भिडियो तथा फोटोसमेत खिचेको पाइएको छ । किशोरीका नाममा ‘फेक प्रोफाइल’ बनाएर उक्त फोटाहरू सार्वजनिक गरेको भनेर पीडित पक्षले जानकारी दिएपछि प्रहरीले अन्सारीको खोजी गरेको थियो ।
बलात्कारबाटै दुई पटक गर्भवती भएको र ती युवकले गर्भपतन गराएको पनि खुलेको प्रहरीले जनाएको छ ।
निरन्तर बलाकारको सिकार बनेको साथै असुरक्षित महसुस गरेपछि किशोरीले आफन्त एवं अभिभावकलाई घटना सुनाएकी थिइन् ।
त्यसपछि न्याय माग्दै पीडित पक्ष प्रहरीसमक्ष पुगेको हो । प्रहरीका अनुसार शनिबार राति पक्राउ पक्राउ परेका अन्सारीविरुद्ध विभिन्न ३ शीर्षकमा मुद्दा चलाउन अनुसन्धान अगाडि बढाइएको छ ।
उनीविरुद्ध जबरजस्ती करणी, गर्भ संरक्षण सम्बन्धी कसूर र विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।












Discussion about this post