इटहरी(डेक्स) : केही दिनयताको लगातार वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव वृद्धि भएको छ । पहाडी क्षेत्रमा भएको धेरै वर्षाका कारण सप्तकोशी नदीमा जलस्तर बढेको हो ।
आज बुधबार ११ बजे कोशी ब्यारेजमा पानीको बहाव १ लाख २६ हजार १६५ क्युसेक प्रतिसेकेन्ड रेकर्ड भएको नियन्त्रण कक्षले जनाएको छ । जलस्तर बढेसँगै ब्यारेजका कूल ५६ मध्ये १८ वटा ढोका खोलेर पानीलाई निकास दिइएको छ ।
बाढी पूर्वानुमान महाशाखाले सप्तकोशीका सहायक नदीहरुमा जलस्तर बढ्ने र आकस्मिक बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
वर्षाका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । सिरहा, सप्तरी, महोत्तरीको जनजीवन प्रभावित भएको हो ।
वर्षाले सप्तरी जिल्लाभर शैक्षिक संस्थाको अध्ययन अध्यापन प्रभावित बनेको छ । दैनिक रुपमा मजदुरी गरेर जीविकोपार्जन गर्ने वर्ग मर्कामा परेका छन् ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा डुबान भएको छ । दुई फिटसम्म डुबान हुँदा ओपीडी, एक्सरे, फार्मेसीसहितका सेवा प्रभावित भएको छ ।
बाढीपहिरोका कारण तीनवटा राजमार्ग अवरुद्ध भएका छन् । सडक विभागको तथ्यांकअनुसार तीनवटा राजमार्ग पूर्ण रुपमा ठप्प छन् भने १३ वटा राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् ।














Discussion about this post