इटहरी : सामाजिक सञ्जालहरूमा आर्कषक तलव सुविधा देखाउने इटहरीको एकेएम ग्रुपमा इटहरी उपमहानगरपालिकाले छापा मारेको छ ।
सामाजिक सन्जाल फेसबुकमा सहजै मासिक ५० देखि ६० हजार कमाई हुने भन्दै विज्ञापन गर्ने ग्रुपमा उपमहानगरले आज (आइतबार) छापा मारेको हो ।
विशेषगरी पूर्वी पहाडी जिल्लाहरूबाट पढ्न आएका युवा युवतीहरूलाई लक्षित गरेर विज्ञापन गरेको भन्दै उपमहानगरका मेयरसहितको टोलीले ग्रुपमा छापा मारेको हो ।
कर्मचारीहरूलाई ६० हजारसम्म तलव भन्दै विज्ञापन छ्यापछ्याप्ती देखिन थालेपछि छापा मारिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए ।
पछिल्लो समय ठगीका नयाँ–नयाँ शैली देखा परेकाले छापा मारेको उनले बताए । ग्रुपको सामान बेच्नका लागि उनीहरूले सर्वसाधरणहरूलाई झुटो विज्ञापन गरेको पाइएको उनको भनाई छ ।
यस्ता जब सेन्टरले विभिन्न सामाजिक सञ्जाल तथा टिकटकमा पनि अडियो, भिडियो तथा टेक्स्ट मै आकर्षक विज्ञापन बजाउने र ठगी गर्न सक्ने भन्दै सर्तकता अपनाउन मेयर पौडेलले आग्रह गरे ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी माधवप्रसाद काफ्ले भने सामाजिक सञ्जालमा यसरी विज्ञापन गर्ने नपाइने बताए । इटहरीमा ठगीका घटनाको विषयमा आँफूहरू चलाखीपूर्ण रुपमा काम गरिरहेको उनले बताए ।














Discussion about this post