ताप्लेजुङ : ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा अनेरास्ववियुको नगर अधिवेशनमा एमाले ताप्लेजुङका उपसचिव मणीसङ्कर पोमुले खुकुरी देखाउँदै विद्यार्थीमाथि कुटपिट गरेका छन् ।
आँफूले भनेको व्यक्तिलाई नगर उपसचिव नबनाएको भन्दै एमाले ताप्लेजुङका उपसचिव पोमुसहितको समूहले विद्यार्थीमाथि घरमै गएर कुटपिट गरेको घटना बाहिरिएको छ ।
एमालेका जिल्ला नेताहरूले नै विद्यार्थीमाथि कुटपिट गर्दा नगर र जिल्ला अधिवेशन नै रोकिएको छ । अनेरास्ववियु ताप्लेजुङको अधिवेशन असोज २४ र २५ गते गर्ने तय भएको थियो ।
जिल्ला अधिवेशन गर्नुभन्दा पहिला नगर अधिवेशन चलिरहँदा पोमुले शनिबार कुटपिट गर्दै घर–घर गएर विद्यार्थी र कार्यकर्तालाई धम्की समेत दिएको अनेरास्ववियु ताप्लेजुङका इन्चार्ज रोशन लामाले बताए ।
पोमुको कुटपिटबाट सन्दीप श्रेष्ठ घाइते भएका छन् । श्रेष्ठको उपचार भइरहेको छ । पोमुले नगर अधिवेशनका क्रममा अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य नारद गौतम, पार्टीको तर्फबाट विद्यार्थी हेर्ने इन्चार्ज लेखनाथ भट्टराईलाईसमेत धम्क्याएको लामाले बताए।














Discussion about this post