विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारले प्रहरी समायोजन गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेकाले त्यसको पूर्वतयारीमा जुट्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको अनुगमनका क्रममा मुख्यमन्त्री कार्कीले प्रहरी समायोजन माघ १५ गतेभित्र प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिबद्धता जनाएकाले त्यसको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।
‘प्रहरी प्रदेशमा आएपछि त्यसको सञ्चालन, सरूवा, बढुवाको विधि, निर्माण गरेर पूर्वतयारीमा लाग्नुको विकल्प छैन,’ उनले भने, ‘जनताको दैनिकीका साथै शान्ति सुरक्षामा प्रत्यक्ष रूपमा जोडिएको मन्त्रालय भएकाले जनतामा महसुस हुनेगरी काम गर्नुहोस् ।’
बजेट कार्यान्वयनको लागि द्रूत गतिमा मन्त्रालयको कामकाज अगाडि बढाउन निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले बजेट पूर्ण रूपमा कार्यान्वयन भएमा जनतासम्म सरकार पुगेको महसुस हुने बताए ।
‘विपद् जोखिम क्षेत्रको नक्साङ्कनको काम चाँडो सकेर विपद् व्यवस्थापनको अगाडि बढाउनु होस्,’ उनले भने, ‘नक्साङ्नपछि हामीले त्यस क्षेत्रका नागरिकलाई विपद् आउनुपूर्व नै सूचित गर्न सकिन्छ । वस्तीलाई व्यवस्थापन गर्न सकिन्छ । त्यसकारण विपद्का बेला आत्तिने होइन पूर्व तयारीमा जुटौं ।’
मन्त्रालयका कर्मचारीले प्रदेशका १४ जिल्लामध्ये ९ जिल्लाको नक्साङ्कन एकीकृत गर्ने काम भइरहेको र बाँकी जिल्लाको अब चाँडै नक्साङ्कनको काम अगाडि बढाउने तयारी रहेको जानकारी गराएका थिए ।
‘ट्राफिक सप्ताह होइन, सधैं ट्राफिक अभियान चलाउन र सडकमा जोडिएका सीसी क्यामेराहरूको प्रभावकारी अनुगमन गर्नका साथै लागूऔषध नियन्त्रणको क्षेत्रमा गम्भीर भएर काम अगाडि बढाउनु होस्,’ उनले भने ।



















Discussion about this post